२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

मधेशका गाउँमा गोइँठाकै भर, छैन ग्यास अभावको चिन्ता

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ चैत २ गते १५:२६
Shares
मधेशका गाउँमा गोइँठाकै भर, छैन ग्यास अभावको चिन्ता

रौतहट : विश्व बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र आपूर्तिमा देखिएको असहजतासँगै नेपालका विभिन्न सहरमा खाना पकाउने एलपी ग्यासको अभाव चर्किएको छ । ग्यास सिलिन्डर भर्न उपभोक्ताहरू डिपो र ग्यास उद्योगअगाडि लामो लाइन बस्न बाध्य छन्, जसका कारण सहरका धेरै घरपरिवारको दैनिक भान्सा प्रभावित हुन थालेको छ ।

ncell

तर सहरमा देखिएको यही ऊर्जा संकटको असर भने तराई–मधेशका ग्रामीण बस्तीमा खासै परेको छैन । मधेशका गाउँहरूमा अझै पनि परम्परागत इन्धन गोइँठा प्रयोग हुने भएकाले ग्यासको अभावले त्यहाँको दैनिक जीवनमा ठुलो समस्या देखिएको छैन ।

ग्रामीण क्षेत्रमा घरपालुवा गाईभैँसीको गोबरमा भुस मिसाएर बनाइने गोइँठा नै मुख्य इन्धनका रूपमा प्रयोग गरिन्छ । पशुपालनसँग जोडिएको ग्रामीण जीवनशैलीका कारण गोबरको उपलब्धता सहज हुने भएकाले वर्षभरि प्रयोगका लागि गोइँठा तयार पार्ने चलन अझै कायम छ । गाउँका घर–आँगन, भित्ता, छाना तथा खेतका आलीमा सुकाउन राखिएका गोइँठाका चाङहरू अहिले पनि सामान्य दृश्यजस्तै देखिन्छन् ।

रौतहटको यमुनामाई गाउँपालिका–४ की स्थानीय गायत्री देवी यादवका अनुसार सहरमा ग्यास अभाव भएको खबर सुनिए पनि गाउँमा त्यसले खासै चिन्ता बढाएको छैन । “हामीकहाँ गाईभैँसी पाल्ने चलन छ । गोबरबाट गोइँठा बनाएर वर्षभरि प्रयोग गर्छौं । त्यसैले ग्यास सकिन्छ कि भन्ने डर हुँदैन,” उनले भनिन् ।

मधेशका धेरै समुदायमा गोइँठा केवल इन्धन मात्र नभई संस्कार र परम्परासँग पनि जोडिएको छ । विवाह, छठ लगायतका धार्मिक तथा सामाजिक अनुष्ठानमा गोइँठाकै आगो प्रयोग गर्ने चलन अझै कायम छ ।

स्थानीयका अनुसार ग्यासको तेज आगोभन्दा गोइँठाको मधुरो तापमा माटोको चुल्होमा पकाइएको खाना स्वादिलो र स्वास्थ्यकर हुने विश्वास गरिन्छ। त्यसैले आधुनिक ऊर्जा स्रोतको पहुँच बढे पनि ग्रामीण भान्सामा परम्परागत चुल्होको प्रयोग कायमै छ।

गोइँठा प्रयोग गर्दा आर्थिक भार नपर्ने भएकाले निम्न तथा मध्यम वर्गीय परिवारका लागि यो सहज विकल्प बनेको छ । बाह्य आपूर्तिमा निर्भर हुनुपर्दैन, जसका कारण नाकाबन्दी वा अन्तर्राष्ट्रिय संकटका बेला पनि गाउँको दैनिक जीवन धेरै प्रभावित हुँदैन ।

यद्यपि स्वास्थ्यविद्हरूले परम्परागत चुल्होबाट निस्कने धुवाँले श्वासप्रश्वाससम्बन्धी समस्या बढ्न सक्ने भन्दै सुधारिएको चुल्हो वा धुवाँरहित ऊर्जाको प्रयोग बढाउन सुझाव दिँदै आएका छन् ।

अहिले सहरमा ग्यासको अभावले उपभोक्ता समस्यामा परिरहेका बेला मधेशका धेरै गाउँमा भने गोइँठाकै भरमा भान्सा चलिरहेको छ । यसले ग्रामीण क्षेत्रमा परम्परागत ऊर्जा स्रोत अझै पनि दैनिक जीवनको महत्वपूर्ण आधार बनेको संकेत गर्दछ ।

सम्बन्धित खबर