२०८३ भदौ ३१ गते बुधवार / Sep 16 , 2026 , Wednesday
२०८३ भदौ ३१ गते बुधवार

चाँदी नदीमा अवैध दोहनको पराकाष्ठाः सरोकारवाला मौन, बस्ती जोखिममा

Nada
सत्येन्द्र प्रताप सिंह
२०८२ फागुन ३० गते १३:०४
Shares
चाँदी नदीमा अवैध दोहनको पराकाष्ठाः सरोकारवाला मौन, बस्ती जोखिममा

रौतहटः जिल्लाको उत्तरी भेगस्थित चन्द्रपुर नगरपालिका वडा नम्बर ३ गैँडाटार भएर बग्ने चाँदी नदीमा पछिल्लो समय नदीजन्य सामग्रीको अवैध उत्खनन र चोरी निकासी तीव्र बनेको छ। प्राकृतिक सम्पदाको यसरी चरम दोहन भइरहँदा पनि सम्बन्धित निकायहरू भने मौन बसेको भन्दै स्थानीयस्तरमा व्यापक जनगुनासो चुलिएको हो ।

ncell

स्थानीयका अनुसार मापदण्डविपरीत ठूला मेसिन र औजार प्रयोग गरेर ढुङ्गा गिट्टी र बालुवा उत्खनन गर्ने कार्य रातदिन जारी छ। वातावरणीय प्रभाव मूल्याङ्कन बिना नै वा तोकिएको मापदण्डभन्दा धेरै गहिराइमा पुगेर उत्खनन गर्दा नदीको प्राकृतिक बहाव परिवर्तन हुने र वर्षायाममा ठुलो बाढीको जोखिम निम्तिने खतरा बढेको छ।

गैँडाटारका एक स्थानीय भन्छन्, ‘हाम्रै आँखा अगाडि ट्रयाक्टर र टिप्परका लाइन लागेर बालुवा–ढुङ्गा लगिन्छ, तर रोक्ने कोही छैन, लाग्छ यहाँ प्रशासन नै छैन।’ ​नदीजन्य सामग्रीको चोरी निकासी रोक्ने मुख्य जिम्मेवारी स्थानीय सरकार प्रहरी प्रशासन र जिल्ला समन्वय समितिको हो । तर गैँडाटारको चाँदी नदीमा भइरहेको यो खुल्ला लुटका बारेमा बारम्बार जानकारी गराउँदा पनि सरोकारवाला निकायले कुनै ठोस कदम नचालेको स्थानीयको आरोप छ। प्रहरीले फाटफुट रूपमा सवारी नियन्त्रणमा लिए पनि मुख्य योजनाकार र सेटिङमा काम गर्ने गिरोहसम्म पुग्न नसकेको उनीहरूको बुझाइ छ।

​चन्द्रपुर नगरपालिकाको यो क्षेत्र चुरे पहाडको काखमा पर्दछ। चुरे क्षेत्र संरक्षणका लागि सरकारले राष्ट्रपति चुरे संरक्षण कार्यक्रममार्फत करोडौँ खर्च गरिरहे पनि सोही क्षेत्रको मुटु मानिने चाँदी नदी क्षतविक्षत पारिएको छ। जथाभाबी उत्खननले भूमिगत जलस्रोतको सतह घट्ने र कृषि क्षेत्रमा सिँचाइको समस्या देखिने विज्ञहरूले चेतावनी दिएका छन्। 

​यस विषयमा जिज्ञासा राख्दा चन्द्रपुर नगरपालिका र स्थानीय प्रशासनले अनुगमन गरिरहेको पुरानै प्रतिक्रिया दिएका छन्। तर स्थलगत रूपमा भने अवैध उत्खननको दृश्यले प्रशासनको दाबीलाई गिज्याइरहेको छ। ​गैँडाटारवासीले तत्काल यो अवैध कार्य रोक्न र दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेका छन्। 

सम्बन्धित खबर