२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

पितृ कर्म र सन्तानको जिम्मेवारी

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते ०८:३५
पितृ कर्म र सन्तानको जिम्मेवारी

– नारायणबहादुर बस्नेत
सोह्रश्राद्ध भदौ २३ गते अर्थात् असोज कृष्ण प्रतिपदाबाट प्रारम्भ भएको छ । यो अवसरमा हामीले केवल धार्मिक परम्परा मात्र होइन, संस्कार, विज्ञान र समाज सुधारलाई पनि आत्मसात् गर्नुपर्छ । श्राद्ध हाम्रो पितृ ऋण तिर्ने कर्तव्य मात्र होइन, यो एक प्रकारको जीवन साधना हो— जहाँ परिवार, वंश, समाज र आध्यात्मिक उत्तरदायित्व एकसाथ जोडिन्छन् । शास्त्रीय मान्यताअनुसार श्राद्ध कर्म छोराले श्रद्धापूर्वक गर्नु उसको धर्म हो । यस पुण्यकर्मले पितृ तृप्ति त दिलाउँछ नै समाजमा बढ्दो नैतिक पतन र अपराध प्रवृत्तिलाई पनि कमजोर पार्ने आन्तरिक शक्ति प्रदान गर्छ ।

श्राद्ध केवल कर्मकाण्ड होइन— यो हाम्रा पूर्वजप्रतिको आत्मिक स्नेह, वंशीय सम्मान र संस्कारको अभिव्यक्ति हो । शास्त्रले स्पष्ट रूपमा भनेको छ– श्राद्ध कर्म समयमै गर्नु अनिवार्य छ । ‘एकोतृष्ट श्राद्ध’ (एक पटक गरिने विशेष श्राद्ध) तोकिएको तिथि र समयमै सम्पन्न हुनुपर्छ । यदि त्यो छुट्यो भने ‘भोली गर्छु’ भनेर टार्न मिल्दैन । यस्तो अवस्थामा श्राद्धको विधि बिस्तारै सम्हाली राखी पौषे औँसीमा संयुक्तरूपमा गर्नुपर्ने हुन्छ । यसरी हेर्दा, देवताको पूजाभन्दा श्राद्ध अझ समयबद्ध, संवेदनशील र उत्तरदायित्वयुक्त कर्म हो । हामी गायन, वादन, लेखन वा अन्य कुनै पनि 
विधामा सफलता पाउन साधना गर्छौं । त्यसैगरी, धार्मिक वा आध्यात्मिक कर्ममा पनि साधना आवश्यक छ ।

राजेशपायल राईको स्वर जस्तो गायन केवल ‘गाउने इच्छा’ले आउँदैन, त्यसका लागि ‘सा रे ग म’ को निरन्तर अभ्यास चाहिन्छ । त्यसैगरी, श्राद्ध पनि साधना हो, अनुशासन, श्रद्धा र समयपालनसहितको । हामी मन्दिर गएका बेला आँखा चिम्लेर भगवानको ध्यान गर्छौं, किनभने ईश्वरलाई बाह्य उज्यालोमा होइन, आन्तरिक शुद्धि र ध्यानको अन्धकारमा भेटिन्छ । श्राद्धको बेला आत्मावलोकन, श्रद्धा र चित्तशुद्धि आवश्यक हुन्छ । अन्धकार प्रतीक हा–वैराग्य, समर्पण र आत्मचिन्तनको, जहाँबाट मात्रै पितृको सन्तुष्टि सम्भव हुन्छ । 

सोह्र श्राद्ध ‘महालय श्राद्ध’ हो, जसमा तीन पुस्तासम्मका पितृहरू (बुबाको, आमाको र ससुरालीपट्टीका) तथा पछाडिका सोह्र पुस्तासम्मका पितृहरूलाई तर्पण दिइन्छ । यसरी, श्राद्ध केवल व्यक्तिगत होइन– वंश, समाज र संस्कारकै सामूहिक स्मरण र सम्मान हो । विज्ञानले पनि वंशाणुगत असरलाई प्रमाणित गरिसकेको छ । जब हामी डाक्टरकहाँ जान्छौं, तिनले हजुरबुबासम्मको रोगको इतिहास सोध्छन् ।

यो सन्देश दिन्छ कि कर्म, वंश र पुनर्जन्म आपसमा गहिरो रूपमा गाँसिएका छन् । ४० प्रतिशतसम्म आचरण–व्यवहार वंशाणुगत गुणबाट प्रभावित हुन्छ भन्ने वैज्ञानिक तथ्यले पितृ कर्मको निरन्तरताको मान्यतालाई पुष्टि गर्छ । जीवनलाई फुटबलको खेलसँग तुलना गर्दा, हामी हरेक व्यक्ति खेलाडी हौं । समाज, परिवार र छिमेकीहरू दर्शक हुन् । हाम्रो कर्मको प्रदर्शन समाजले हेर्दैछ, टिप्पणी गर्दैछ । त्यसैले, यदि हामीले जीवनलाई जिम्मेवारीसाथ खेलेर असल कर्म ग¥यौं भने समाज स्वतः सुधारिनेछ । श्राद्ध केवल परम्परा होइन, श्रद्धा, साधना, विज्ञान र समाज सुधारसँग जोडिएको गहिरो जीवन–दर्शन हो । हामी सबैको कर्तव्य हो– यस्ता धर्म, संस्कार र विज्ञानमा आधारित परम्परालाई बचाउने, पछिल्लो पुस्तामा हस्तान्तरण गर्ने र आफ्ना पितृप्रति सम्मानपूर्वक श्रद्धाञ्जली अर्पण गर्ने ।
 

ADV

सम्बन्धित खबर

Advertise