२०८२ भदौ २४ गते मङ्गलवार / Sep 09 , 2025 , Tuesday
२०८२ भदौ २४ गते मङ्गलवार
Ads

के खोजिरहेछ ‘जेन जी’ पुस्ता ?

shivam cement
मध्यान्ह
२०८२ भदौ २४ गते ०८:३२
के खोजिरहेछ ‘जेन जी’ पुस्ता ?

– अपूर्व नेपाल
‘जेन जी’, सन् १९९७ देखि २०१२ को आसपास जन्मिएका व्यक्तिहरूलाई जनाउने शब्द हो । यो पुस्ता अहिले संसारभरि सामाजिक, सांस्कृतिक, प्रविधि र राजनीतिक दृष्टिकोणबाट सबैभन्दा प्रभावशाली पुस्तामध्ये एक बनेको छ । यसको कारण संख्या मात्र होइन, उनीहरूको सोच, व्यवहार, जीवनशैली र मूल्य मान्यता पनि हो । यो पुस्ताले अहिलेको डिजिटल युगमा हुर्किएर संसार हेर्ने तरिका नै फरक बनाएका छन् । जेन जी पुस्ता के खोजिरहेको छ भन्ने प्रश्नको उत्तर सजिलो छैन, किनभने यो पुस्ता परम्परागत ढाँचाबाट बाहिर निस्केर आफ्नो बाटो आफैं बनाउँदै छ । तथापि, केही मुख्य विषयहरू छन्, जसमा यो पुस्ताको खोज, चाहना र आकांक्षा देखिन्छन् ।

सर्वप्रथम, जेन जी पुस्ता ‘असलीपन’को खोजीमा छ । सामाजिक सञ्जाल, प्रविधि र ब्राण्डहरूले भरिएको संसारमा हुर्किएका यी युवाहरूलाई अब बनावटीपन, झूटो प्रचार र सतही व्यवहारहरू मन पर्दैन । उनीहरू प्रामाणिकता खोज्छन्, चाहे त्यो व्यक्तिगत सम्बन्धमा होस्, चाहे सामाजिक मुद्दामा, चाहे राजनैतिक नेताहरूमा । सामाजिक सञ्जालमा देखिने चम्किलो जीवनभन्दा पनि तिनीहरू यथार्थपरक कथा र अनुभवप्रति बढी आकर्षित छन् । यही कारणले गर्दा अहिलेको डिजिटल कन्टेन्टमा ‘रअ’, ‘अनफिल्टर’ र ‘रिलिटेबल’ भन्ने कुरा बढी मूल्यवान् बन्न थालेको छ ।
जेन जी पुस्ता आत्म–पहिचानको खोजीमा छ । यो पुस्ताले आफ्नो लैंगिकता, यौनिकता, जातीयता र सामाजिक पहिचानका विषयमा खुल्लापन देखाएको छ । परम्परागत मान्यताहरूलाई चुनौती दिने र आफ्नो पहिचानलाई आफैं परिभाषित गर्ने चाहनाले गर्दा यी युवा स्वतन्त्र सोच भएका देखिन्छन् । उनीहरूका लागि पहिचान कुनै निश्चित फ्रेममा अड्किएको छैन । यही सोचका कारण लिंग, यौनिकता वा धर्मका आधारमा हुने भेदभावप्रति उनीहरू बढी सजग र आलोचक छन् ।

जेन जी पुस्ताको अर्को गहिरो खोज हो – उद्देश्य र अर्थ । केवल पैसाको लागि काम गर्ने सोचले यो पुस्तालाई धेरै उत्साहित गर्दैन । उनीहरू चाहन्छन् यस्तो काम जसमा उनीहरूले कुनै सामाजिक वा व्यक्तिगत अर्थ भेटून्, चाहे त्यो वातावरण संरक्षणमा होस् वा मानसिक स्वास्थ्यको क्षेत्रमा वा प्रविधिको माध्यमबाट जीवनलाई सरल बनाउने प्रयासमा । उनीहरू ती संस्थासँग आवद्ध हुन चाहन्छन् जसको उद्देश्य समाजमा केही सकारात्मक प्रभाव पार्नु हो ।

प्रविधिको प्रयोग र नवप्रवर्तनमा पनि यो पुस्ता अगाडि छ । उनीहरू डिजिटल युगको पहिलो ‘नेटिभ’ पुस्ता हुन्, जसले इन्टरनेट, स्मार्टफोन, सामाजिक सञ्जाल र कृत्रिम बुद्धिमत्ताको विकास आफ्नै आँखाले देखेका छन् र दैनिक जीवनमा प्रयोग गरिरहेका छन् । तर, यिनको प्रविधिप्रतिको सम्बन्ध केवल प्रयोगमा सीमित छैन; यो पुस्ता प्रविधिलाई सामाजिक परिवर्तनको औजारको रूपमा हेर्छ । चाहे तिनीहरूले टिकटक प्रयोग गरून् वा मेटाभर्समा काम गरून्, उनीहरू प्रविधिलाई सिर्जनात्मकता, आत्म–अभिव्यक्ति र समुदाय निर्माणको साधनका रूपमा लिन्छन् ।

जेन जी पुस्ता सम्बन्धमा पनि नयाँ धारणा बोकेर आएको छ । उनीहरूका लागि सम्बन्ध भनेको केवल पारिवारिक दबाब वा सामाजिक अपेक्षा होइन । बरु, एक–अर्कालाई बुझ्ने, समर्थन गर्ने र स्वतन्त्र रूपमा बढ्न सहयोग गर्ने सम्बन्ध चाहिन्छ । यो पुस्ता मानसिक स्वास्थ्यप्रति बढी सजग छ र सम्बन्धभित्रको भावनात्मक सुरक्षालाई विशेष प्राथमिकता दिन्छ । मानसिक स्वास्थ्यलाई लिएर खुल्ला बहस गर्ने, चिकित्सकको सहयोग लिनु लाजको कुरा होइन भन्ने सोच पनि यही पुस्ताबाट बढ्दै गएको हो ।

शिक्षा र करियरका क्षेत्रमा पनि जेन जी पुस्ता भिन्न सोच बोकेको देखिन्छ । परम्परागत रुपमा ‘अध्ययन गर, डिग्री पाऊ, जागिर गर’ भन्ने सोचभन्दा बाहिर गएर उनीहरू ‘सीपमा आधारित’ सिकाइमा विश्वास राख्छन् । अनलाइन कोर्सहरू, सर्टिफिकेट प्रोग्रामहरू र स्वतन्त्र अध्ययनमार्फत ज्ञान हासिल गर्न चाहने यो पुस्ता विकल्पहरूमा विश्वास गर्छ । तिनीहरू कामसँग स्वतन्त्रता र लचिलोपन चाहन्छन्, जस्को अर्थ केवल काम गर्नु होइन, जीवन जिउनु पनि हो ।

परिवार र समुदायको अवधारणामा पनि यो पुस्ता फरक सोच राख्छ । केवल जन्मको आधारमा हुने सम्बन्धभन्दा बढी, उनीहरू साझा विचार, मूल्य र भावनामा आधारित समुदाय निर्माण गर्न चाहन्छन् । उनीहरू आफैं जस्तै सोच राख्ने व्यक्तिहरूसँग सुरक्षित र स्वीकृत महसुस गर्न चाहन्छन् ।

उपभोक्ताको रूपमा जेन जी पुस्ता बढी सचेत छ । उनीहरू किन्दछन्, तर सोचेर किन्दछन् । ब्राण्डहरूको सामाजिक मूल्य, वातावरणीय प्रभाव र कार्यस्थल संस्कृतिलाई मूल्यांकन गरेर मात्र उनीहरू उपभोग गर्छन् । यही कारणले गर्दा अहिलेको बजारमा ‘नैतिक उपभोक्तावाद’ को चर्चा बढ्दै गएको हो । कुनै ब्राण्डले यदि सामाजिक दृष्टिले गलत व्यवहार ग¥यो भने, त्यो तुरुन्तै बहिष्कृत हुन्छ — यिनीहरूका लागि ब्राण्डको इमेज भन्दा पनि त्यसको व्यवहार महत्वपूर्ण हुन्छ ।

यसरी हेर्दा, जेन जी पुस्ता केवल नयाँ प्रविधिको प्रयोगकर्ता मात्र होइन, सामाजिक परिवर्तनको चालक शक्ति पनि हो । उनीहरू केवल आफैंका लागि होइन, समाजका लागि पनि मूल्य खोजिरहेका छन् । आफूलाई चिन्ने, स्वीकार्ने, अभिव्यक्त गर्ने र प्रभाव पार्ने प्रक्रिया नै यो पुस्ताको खोज हो । अनि यो खोज केवल व्यक्तिगत स्तरमा सीमित छैन, सामूहिक रूपमा पनि उनीहरू परिवर्तनको माग गर्दैछन् ।

जेन जी पुस्ता एउटा यस्तो पुस्ता हो जसले ‘के हो भन्नु मात्र होइन, के हुन सक्छ भनेर कल्पना गर्ने’ साहस राख्छ । उनीहरू सामाजिक दबाबमा झुक्ने होइन, त्यसलाई परिवर्तन गर्न तयार छन् । उनीहरूका लागि जीवनको उद्देश्य केवल बाँच्नु होइन, अर्थपूर्ण रूपमा बाँच्नु हो । त्यसैले, जेन जी पुस्ता के खोजिरहेको छ भन्ने प्रश्नको उत्तर हो — सत्य, स्वीकृति, उद्देश्य, न्याय र सम्भावनाको संसार । 
(लेखक नेपाल, साइबर विज्ञ हुन् ।)
 

ADV

सम्बन्धित खबर

Advertise