–सरस्वती मोहरा
मार्क्सवादी विचारबाट प्रभावित महिला मुक्तिका हिमायती भन्नेहरूका पनि कतिपय तर्कहरू गज्जबका देखिन्छन् । जस्तै ः पुरुषले गर्दा हुने, महिलाले गर्दा किन नहुने ? अथवा खराब काम पुरुषले गर्दा हुने, महिलाले गर्दा किन नहुने ? पुँजीवादी, अराजकतावादी नारीवादी तर्कहरू र महिलालाई महिला भएकैले समर्थन गर्नुपर्ने÷नगरिनुपर्नेजस्ता तर्कहरू तिनीहरू गर्छन् ।
यस्ता तर्कबाजहरूसित यदि तपाईं महिलामुक्ति र श्रमजीवी महिलाहरूको दैनिकीसँग जोडिएको जीवनशैली र व्यवहारको सन्दर्भमा विचार र सिद्धान्तको कुरा गर्नुहुन्छ भने तिनीहरू आफ्ना सुविधाअनुसार बोल्ने गर्छन् । उनीहरू खाने/लाउने विषय त सामान्य विषय हो र यस्ता विषय कत्ति पनि सैद्धान्तिक विषयसित नजोडिएका हुन् भन्छन् । तथापि, ती फेरि ‘सम्पन्न, सम्भ्रान्त मिडिल क्लास र अभिजातीय महिलाहरूको वर्ग र विचारको पक्षमा महिलाहरूले खान लाउन पनि नपाउने, नाच्न पनि नपाउने हुन्छ र ? यो त महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको हनन् हो’ र यस्तो किसिमको सोच त सामन्ती, संकीर्ण, जडवादी सोच हो भन्दै फेरि सैद्धान्तिक प्रश्न नै तेर्साउँछन् ।
वास्तवमा, पुँजी–नियन्त्रित बजार व्यवस्थामा पुँजी मात्रको व्यक्तित्व हुने हो र स्त्रीपुरुष दुवैको व्यक्तिगत स्वतन्त्रता भन्ने कुरा नभएर, पुँजी हुने स्त्रीपुरुषको मात्र व्यक्तिगत स्वतन्त्रता र व्यक्तित्व हुने कुरा ती बुझ्दैनन् । पुँजी र पुँजीबजार–नियन्त्रित सामाजिक व्यवस्थामा व्यक्तिगत स्वतन्त्रता र समानताको कुरा निम्न वर्गका महिला–पुरुष दुवैका लागि भ्रम मात्र हुन् । यस्तो समाजमा महिलाहरूको व्यक्तिगत स्वतन्त्रताको कुरा भन्नाले अन्ततः अभिजातीय र सम्भ्रान्त मिडिल क्लास महिलाहरूको वर्ग र विचारको पक्षपोषण गर्ने हुन्छ । त्यसले विकृत पुँजीवादी, बजार–नियन्त्रित, उपभोक्तावाद मात्रको समर्थन गर्छ । महिला स्वतन्त्रता र समानताको नाममा अन्ततः त्यही पुँजीवादी व्यवस्थालाई नै बल पुग्ने कुरा बुझ्नु आवश्यक हुन्छ ।
वर्गसापेक्ष समाजमा महिलाको सवालमा वर्ग निरपेक्ष दृष्टिकोण घातक र हानिकारक हुन्छ । पुँजीका कारण बनेको वर्गसापेक्ष समाजमा महिलाहरू पनि स्पष्ट रूपमा वर्गमा विभाजित हुन्छन् र स्त्री स्वतन्त्रता तथा समानताको कुरा पनि स्वतः वर्ग निरपेक्ष नहुने कुरा बुझ्नु आवश्यक हुन्छ । तसर्थ ‘स्त्री स्वतन्त्रता, महिलामुक्ति र नारीवादका कुरा’लाई पनि वर्गीय आधार र वर्गदृष्टिकोणले हेर्नु अपरिहार्य हुन्छ । वर्ग–निरपेक्ष ढंगले गरिने स्त्री स्वतन्त्रता र नारीवादका कुरा अन्ततः अभिजातीय र सम्भ्रान्त मिडिल क्लास महिलाहरूको दायराभित्र सीमित भई, असलमा पुँजीवादी व्यक्तिगत स्वतन्त्रताको कुरा मात्र हुने र त्यो वास्तविक अर्थमा महिला स्वतन्त्रता र महिलामुक्ति नहुने कुरा बुझ्नु आवश्यक छ ।
स्त्रीको हकमा केवल सामन्तवाद मात्रको विरोध गरेर सारमा पुँजीवादको समर्थन गर्ने ‘नारीवाद’ अथवा नेपाली परिप्रेक्ष्यमा अहिले नयाँ रूप/रंग, कलेवर, गेटअप र फ्लेवरका रूपमा देखिएको नारीवादकै एक रूप ‘नारीवादी महिलामुक्तिका हिमायतीहरू’ले के बुझ्दैनन् भने अहिलेको नेपाली समाजमा आफ्ना सारा विकृति र अपसंस्कृतिसहित सामन्तवादको रूपमा सामन्ती सोच र संस्कारहरूलाई जीवित राख्ने र टिकाइराख्न मुख्य भूमिका पुँजीवादले नै खेलिरहेको छ । त्यसैले, पुँजीवादी प्रणाली र अपसंस्कृतिको विरोध नगरी सामन्तवाद र सामन्ती परम्परा तथा अपसंस्कृतिको विरोध सम्भव छैन भन्ने कुरा बुझ्नु अत्यावश्यक छ ।
सामन्तवादी अवशेष÷‘फोसिल्स्’लाई समेत ‘भेन्टिलेटर’मा राखेर जोगाइराख्ने र अझ आफ्नो भएभरको बल र कहर प्रयोग गरेर श्रमजीवी वर्ग, श्रमजीवी महिलालगायत आममहिलामाथि शोषण गरिरहेको निरंकुश पुँजीवादको, केवल सुधारवादी तरिकाबाट मात्र विरोध गरेर महिला स्वतन्त्रता सम्भव छैन । सामन्ती र पुँजीवादी सबै शोषण, विकृति, अपसंस्कृतिको जडमा रहेको पुँजीवादी सामाजिक ढाँचा र प्रणालीको सचेत विरोध गर्ने विचारले मात्र वास्तवमा महिला स्वतन्त्रता र समानता सम्भव हुन सक्छ भन्ने कुरा बुझ्नु आवश्यक छ ।