काठमाठौं : पूर्वनिर्वाचन आयुक्त एवं पूर्वपत्रकार इला शर्माको हृदयाघातका कारण निधन भएको छ ।
उनको शनिबार साँझ नर्भिक अस्पतालमा निधन भएको हो । उनको दाहसंस्कार आज गरिने जनाइएको छ । उनले लामो समयसम्म द राइजिङ नेपालमा काम गरेकी थिइन् । उनका दुई छोरी छन् ।
पारिवारिक स्रोतका अनुसार आइतबार बिहान ९ देखि १० बजेसम्म उनको पार्थिव शरीर कुपण्डोलस्थित निवासमा राखिने छ । दिल्लीमा रहेकी उनकी छोरीको आगमनपछि दिउँसो अन्त्येष्टि गरिने बताइएको छ ।
शर्माले त्रिभुवन विश्वविद्यालयबाट सार्वजनिक अन्तर्राष्ट्रिय कानुन र मानव अधिकार विषयमा एलएलएम गरेकी थिइन् भने युकेको युनिभर्सिटी अफ हलबाट अन्तर्राष्ट्रिय व्यापार र विकास अध्ययनमा एलएलएम गरेकी थिइन् ।
उनले कानुन, मिडिया, शिक्षा, विकास, मानव अधिकार, व्यापार, वातावरण, र निर्वाचन प्रणाली सुधारजस्ता क्षेत्रमा तीन दशकभन्दा बढी समय समर्पण गरेकी थिइन् ।
शर्माले निर्वाचन कानुन, नियमावली र निर्देशनको मस्यौदा तयार गर्ने उच्चस्तरीय समितिको नेतृत्व गरेकी थिइन् । उनले काठमाडौं विश्वविद्यालय र ओस्लो विश्वविद्यालयको सहकार्यमा निर्वाचन आयोगमार्फत सञ्चालित एकेडेमिक मास्टर्स कोर्सको डिजाइन र अध्यापनमा पनि महत्वपूर्ण योगदान दिएकी थिइन् ।
त्यसैगरी, शर्माले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा यूएनडीपी परियोजनामा राष्ट्रिय परामर्शदाताको भूमिका निभाउनुका साथै विभिन्न अन्तर्राष्ट्रिय सञ्जालहरूमार्फत संयुक्त राष्ट्रसंघमा मानव अधिकार, अन्तर्राष्ट्रिय व्यापार र विकासका मुद्दामा रणनीतिक कार्य योजनाहरूमा काम गरेकी थिइन् ।
फुड फस्र्ट इन्फर्मेसन एन्ड एक्सन नेटवर्क (फियाने) नेपालको संस्थापक उपाध्यक्ष, साउथ एसियन वुमन इन मिडिया र साउथ एशिया वाचजस्ता संस्थाहरूको कार्यकारी समितिमा समेत उनको सक्रिय संलग्नता थियो ।