२०८२ भदौ १२ गते बिहिवार / Aug 28 , 2025 , Thursday
२०८२ भदौ १२ गते बिहिवार
Ads

शिक्षक महासंघद्वारा एमालेको पार्टी कार्यालयमा धर्ना

shivam cement
मध्यान्ह
२०८२ भदौ १२ गते १२:१४
शिक्षक महासंघद्वारा एमालेको पार्टी कार्यालयमा धर्ना

काठमाडौं : प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउन माग गर्दै नेपाल शिक्षक महासंघले नेकपा एमालेको पार्टी कार्यलयमा धर्ना दिएको छ ।

पहिलो चरणको आन्दोलनको कार्यक्रम अन्तर्गत आज बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म २ घण्टा नेकपा एमालेको कार्यालय च्यासलमा धर्ना बसेर ध्यानाकर्षण पत्र बुझाउने कार्यक्रम रहेको महासंघले जनाएको छ ।

शिक्षक महासंघले बुधबार नेपाली कांग्रेसको कार्यलयमा धर्ना दिएको थियो । त्यसैगरी शुक्रबार नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयमा पेरिसडाँडामा धर्ना दिइने महासंघले जानकारी दिएको छ ।

महासंघले भदौ २० गतेसम्म धर्ना कार्यक्रम जारी राख्ने भएको छ । २० गतेसम्म पनि आफ्ना मागहरु पूरा नभए भदौ २१ गते नयाँ आन्दोलनका कार्यक्रम घोषणा गर्ने महासंघले जनाएको छ ।

संघीय संसदको प्रतिनिधि सभा र राष्ट्रिय सभाबाट विगतमा भएको सहमतिअनुसार विधेयक सच्याउन महासंघले माग गरेको छ । महासंघले अस्थायी प्रकृतिका शिक्षकको पदपूर्ति आन्तरिक प्रतिस्पर्धा ७५ प्रतिशत र खुला २५ प्रतिशत हुनुपर्ने माग अघि सारेको छ । तर विधेयकमा ६० प्रतिशत आन्तरिक र ४० प्रतिशत खुला हुने व्यवस्थासहित समितिले प्रतिनिधि सभामा पठाएको छ ।

विद्यालय कर्मचारीको पद र वेतन सुनिश्चित नभएको र बालकक्षा शिक्षकको पद र सेवा सुविधा निश्चित नभएको, संस्थागत विद्यालयका शिक्षकको सेवा र अव्यवहारिक सरुवा प्रणालीको व्यवस्था ल्याइएको भन्दै महासंघ आन्दोलित भएको हो ।

प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिबाट विद्यालय शिक्षा विधेयक भदौ ५ मा पारित गरिएको थियो ।  विधेयकमा प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरूले फरक मत राखेका छन् । 

ADV

सम्बन्धित खबर

Advertise