२०८२ भदौ १३ गते शुक्रवार / Aug 29 , 2025 , Friday
२०८२ भदौ १३ गते शुक्रवार
Ads

‘दलाल पुँजीवाद अन्त्यका लागि वामपन्थी एकता अपरिहार्य’

shivam cement
उषा किरण पन्थ
२०८२ भदौ १२ गते २१:१९
‘दलाल पुँजीवाद अन्त्यका लागि वामपन्थी एकता अपरिहार्य’

बुटवल : दलाल पुँजीवाद र व्यापक भ्रष्टाचार अन्त्यका लागि वामपन्थी शक्तिहरूबीच एकता र पुनर्गठन अपरिहार्य रहेको वाम नेताहरूले बताएका छन् ।

शहीद तथा बेपत्ता स्मृति प्रतिष्ठान नेपालद्वारा बुटवलमा आयोजित ‘वर्तमान राजनीतिक संकट र निकास’विषयक अन्तरक्रियामा नेपाल कम्युनिष्ट पार्टी (विप्लव) का महासचिव नेत्रविक्रम चन्द, नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसाल र नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले वर्तमान संकटको मूल कारणनै दलाल पुँजीवादी संरचना र राज्य संयन्त्रमा व्याप्त भ्रष्टाचार भएको धारणा राखे ।

महासचिव चन्द(विप्लव)ले राजनीतिक नेतृत्व कमजोर हुँदा कर्मचारीतन्त्र हावी भएको र भ्रष्टाचार संस्थागत बनेको आरोप लगाए । उनले भिजिट भिसा प्रकरणदेखि विमानस्थलमा हुने दैनिक घुसकाण्डसम्मका उदाहरण दिँदै मुलुकलाई दलालहरूले चुसिरहेको बताए । उनका अनुसार अहिलेको छलफल कुनै व्यक्तिको महत्वाकांक्षा नभइ श्रमिक जनताको चाहना हो ।

त्यसैगरी महासचिव भुसालले ‘घुस नखाने नेताको कम्युनिष्ट पार्टी’निर्माण आवश्यक भएको बताए । उनका अनुसार संविधान र व्यवस्था बदले पनि दलहरूको संरचना र प्रवृत्ति नबदलिएसम्म दलाल पुँजीवादको जालोबाट देश मुक्त हुन सक्दैन । उनले वर्तमान राजनीतिक अवस्थालाई ‘सर्पले काँचुली फेर्ने संक्रमण’सँग तुलना गर्दै वाम शक्तिहरूबीच ध्रुवीकरणबाट मात्र नयाँ इतिहास लेखिन सक्नेमा जोड दिए ।

माओवादी केन्द्रका उपमहासचिव शर्मा दलहरूले लोकतन्त्रलाई व्यवहारमा नउतारेको, बेरोजगारी, गरिबी र सुशासनका सवालमा स्पष्ट खाका प्रस्तुत गर्न नसकेको आरोप लगाए । उनले लोकतन्त्र जनतामुखी बन्न नसकी दलाल पुँजीवाद र भ्रष्टहरूको हातमा परेको दाबी गर्दै वाम शक्तिहरूबीच एकता र पुनर्गठन अपरिहार्य भएको निष्कर्ष प्रस्तुत गरे ।

कार्यक्रममा रुपन्देहीका वामपन्थी नेता तथा कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो । सहभागी नेताहरूले वाम आन्दोलनलाई जनतामुखी बनाउन, भ्रष्टाचारविरुद्ध कठोर अभियान सञ्चालन गर्न र संविधानले देखाएको समाजवादको बाटोमा अघि बढ्न वाम एकता अपरिहार्य रहेकोमा जोड दिएका थिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर

Advertise