२०८३ असोज १० गते शनिवार / Sep 26 , 2026 , Saturday
२०८३ असोज १० गते शनिवार

स्थानीय कला र संस्कृतिको संरक्षणमा नगरपालिका तयार : नगरप्रमुख श्रेष्ठ

Nada
सूर्यप्रसाद भुसाल
२०८२ भदौ १२ गते २१:५२
Shares
स्थानीय कला र संस्कृतिको संरक्षणमा नगरपालिका तयार : नगरप्रमुख श्रेष्ठ

अर्घाखाँची : सन्धिखर्क नगरपालिका अर्घाखाँचीका नगरप्रमुख कृष्णप्रसाद श्रेष्ठले स्थानीय कला र संस्कृतिको संरक्षणमा सहयोग गर्न नगरपालिका पूर्ण रूपमा तयार रहेको बताएका छन् । 

ncell

भैरव नाच संरक्षण समिति, सन्धिखर्क–१२ डिभर्ना झेडीले आयोजना गरेको भैरव नाच शुभारम्भ कार्यक्रममा सम्बोधन गर्दै उनले कला संस्कृति संरक्षण नभए स्थानीय नागरिकको समृद्धि सम्भव नहुने धारणा राखे । 

नगरप्रमुख श्रेष्ठले भने, ‘विभिन्न जातजाति, धर्म र संस्कृतिमा भरिपूर्ण सन्धिखर्कमा भैरव नाच सुरु हुनु निकै खुशीको कुरा हो । हामी स्थानीय सरकार यसको संरक्षणमा लागि पर्छौं ।’

अर्घाखाँचीमा प्रचलित परम्परागत भैरव (भैरम) नाचको नगरप्रमुख श्रेष्ठले विधिपूर्वक शुभारम्भ गरेका हुन् । नेवार समुदायको पहिचानका रूपमा नाचिने भैरव नाच श्रीकृष्ण जन्माष्टमीको दिन सुरु गरी कात्तिकको औंसीसम्म निरन्तर प्रस्तुत गरिन्छ ।

यो नाच अर्घाखाँचीका नेवार समुदायको मौलिक परम्परा हो । यसमा काल भैरव मुख्य पात्र मानिन्छन् भने श्वेत भैरव र रातो भैरव सहायक पात्र हुन्छन् । तीनै भैरव आ–आफ्नो भूमिकाअनुसार रङ्गीन खप्पर, कपडा, चौंरी गाईको पुच्छर, मालासहित भगवान्को आकृतिमा सजिन्छन् । 

भैरव नाच सात तालसम्म नाचिन्छ, जहाँ प्रत्येक ताल सामान्यतया २० मिनेट लामो हुन्छ। नाचलाई थप रोचक बनाउन लाठी नाच, घोडा नाच, चरा नाच, लाहुरे–लाहुरेनी नाच, भालु नाच, भुच्याङलगायत हास्यव्यङ्ग्यका विधा मिसाइन्छ ।

भैरव नाच संरक्षण समिति, सन्धिखर्क नगरपालिका–१२ डिभर्ना झेडीको हट संरक्षणमा रहेको भैरव नाच हटिया बजारबाट शुभारम्भ गरिएको समितिका अभियन्ता बसन्त श्रेष्ठले जानकारी दिए । 

रातमा मात्र प्रस्तुत गरिने यो नाच हेर्न हजारौं दर्शक उपस्थित भएका छन् । भैरव नाच नेवार समुदायमा मात्र नभई अन्य समुदायमा पनि लोकप्रिय छ । अर्घाखाँचीको भैरव नाच छिमेकी जिल्ला गुल्मी, प्युठान, पाल्पा, कपिलवस्तु, रूपन्देहीलगायत काठमाडौं र भारतको दिल्लीसम्म लोकप्रिय रहेको स्थानीय अगुवा सिवनाथ श्रेष्ठले बताए । विभिन्न सम्पर्क समाजहरूको आयोजनामा बाहिरी जिल्लामा पनि यो नाच प्रदर्शन गर्ने गरिएको स्थानीय मधु श्रेष्ठले बताए । 

अर्घाखाँचीको डिभर्ना, झेडी पटुवाथुम, नुवाकोट लात्तेबाज र नुवाकोट क्षेत्रबाट यो नाच निकालिँदै आएको यसका अभियन्ता राजकुमार श्रेष्ठले बताए । 

उनका अनुसार युवा पुस्ताको अभावमा नाच विस्तार हुन नसकेको छ । परम्परागत रूपमा प्रदर्शन भइरहे पनि संरक्षण र विस्तारमा चुनौती रहेको स्थानीय बुढापाकाले बताएका छन् ।

भैरव नाच शुभारम्भ कार्यक्रममा सन्धिखर्क नगरपालिकाका पूर्वनगरप्रमुख कमल प्रसाद भुसाल, नेपाली कांग्रेस अर्घाखाँचीका सभापति केशव श्रेष्ठ, नेकपा एमालेका अध्यक्ष पिताम्बर भुसाललगायतको उपस्थिति रहेको थियो ।

ताजा खबर

सम्बन्धित खबर