काठमाडौं : ‘जन्मदिनलाई सतकर्ममा जोडौं’अभियान अन्तर्गत ऋषिपञ्चमीको विशेष दिनमा काठमाडौं र रौतहटमा एकैसाथ वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । अन्तर्राष्ट्रिय ख्यातिप्राप्त वाचिका राधिका दासी माता र नेपाल सरकारका पूर्वसचिव एवं सेवाभावका धनी व्यक्तित्व भीम उपाध्यायले काठमाडौंको पशुपतिनाथ भण्डारखालमा रुद्राक्ष र पिपलसहित सयौं बिरुवा रोपेर अभियानलाई एक्यबद्धता जनाएका छन् ।
यसैदिन रौतहटमा पनि अभियानलाई समर्थन गर्दै महेश श्रेष्ठसहितका स्थानीय महिलाहरूले पञ्चमीको अवसरमा वृक्षारोपण गरेका छन् । तराई विकास तथा सञ्चार केन्द्र नेपालले आयोजना गरेको कार्यक्रममा विभिन्न संस्थाका अध्यक्ष, सामाजिक व्यक्तित्व तथा अभियानमा संलग्न कार्यकर्ताहरूको उपस्थिति थियो ।
काठमाडौंमा भएको वृक्षारोपण कार्यक्रममा सहभागी दासी र उपाध्यायले अब प्रत्येक वडामा फूलसहितका आकर्षक बगैंचा बनाउनुपर्ने आवश्यकता औंल्याए । खर्चिलो र भड्किलो जन्मोत्सव मनाउने प्रवृत्तिलाई न्यूनीकरण गर्दै सेवा भाव र वातावरणीय सन्तुलनमा जोड दिने महत्वपूर्ण योगदान बन्नेमा उनीहरूको विश्वास छ । सेवाभावलाई गौरवका साथ जिम्मेवारीमा परिणत गर्ने अभियान बन्नुपर्नेमा उनीहरूले जोड थियो ।
कार्यक्रमका संयोजक गोविन्दप्रसाद चौलागाईंले राष्ट्रिय संयोजकको हैसियतमा दासी र उपाध्यायलाई धन्यवाद व्यक्त गर्दै यस अभियानले राष्ट्रिय रूपमै नभइ अन्तर्राष्ट्रिय स्तरमा समेत सन्देश दिन सफल भएको बताए । रौतहटको चन्द्रपुर–९ सिन्दुरेघारी, चादिखोला किनारमा निर्माणाधीन नेपालकै पहिलो जन्मोत्सव पार्कमा महेश श्रेष्ठसहितका समूहले पनि जन्मोत्सवलाई वृक्षारोपणमार्फत मनाएका थिए ।
नेपाल सरकारका मुख्यसचिवदेखि सर्वोच्च अदालतका रजिष्ट्रार, पूर्वप्रधानमन्त्री, वरिष्ठ कलाकार, सम्पादकदेखि प्रहरी महानिरीक्षकद्वयसम्म यस अभियानमा जोडिइसकेका छन् । अन्तर्राष्ट्रिय वाचिका देवी प्रतिभासहित विभिन्न व्यक्तित्वहरूले पनि यसअघि वृक्षारोपण गरिसकेका छन् ।
भारी वर्षासहितको प्रतिकूल मौसमलाई पर्वाह नगरी काठमाडौं र रौतहटमा रुद्राक्ष, पिपल, चन्दनलगायत सयौं वृक्ष रोपिएको संयोजक चौलागाईंले बताए । वरिष्ठ गायक स्थानेश्वर गौतमले समेत रौतहटमा पुगेर वृक्ष रोपेको जानकारी दिँदै अभियानलाई धन्यवाद प्रकट गरेका छन् ।
चौलागाईंका अनुसार यो अभियानको सुरुवात रौतहटबाट भएको हो र अहिलेसम्म १७ जिल्लामा नौ हजारभन्दा बढी वृक्ष रोपण भइसकेको छ । उनले अहिलेसम्म कुनै संस्थागत वा व्यक्तिगत सहयोग नलिएको र अभियान आफ्नै सामूहिक प्रतिबद्धतामा अघि बढेको जानकारी दिए ।