रुकुमपूर्व : रुकुम पूर्वको सिस्ने गाउँपालिका–३ तातोपानीस्थित भित्री कच्ची सडकमा सोमबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् ।
धाउनेबाट पोखरतर्फ जाँदै गरेको रा.३प.४५३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भइ सडकबाट चिप्लिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पूर्वका डिएसपी उमाशंकर प्रसाद यादवले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक सिस्ने–३ पोखरा निवासी ४५ वर्षीय दलप्रसाद सुनारको घटनास्थलमै मृत्यु भएको हो । मोटरसाइकलको पछाडि सवार ३६ वर्षीय उपेन्द्र खत्री भने घाइते भएका छन् । उनको ढाड र हातको औंलामा चोट लागेको छ भने अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।
डिएसपी यादवका अनुसार सडक साँघुरो र घुमाउरो भएकाले मोटरसाइकल नियन्त्रण गुमाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।