बाजुराको बुढीगंगा नगरपालिका–६, बम्का बजारमा शुक्रबार भीषण आगलागी भयो । एउटा घरबाट सुरु आगो सिंगो बजारभर फैलियो । स्थानीय अधिकारीहरुका अनुसार ४० भन्दा बढी घरपसल जलेर नष्ट भयो । धन्न दिउँसो आगलागी भएकाले मानवीय क्षति भने हुन पाएन । तर ज्यान जागाएकाहरुले पनि बजारमा फैलिरहेको आगलागीमा रमिते बनिरहे । स्थानीय अधिकारीहरु आगलागी बढिरहेको सूचना दिन्थे, तर समस्या समाधानको पहलमा उनीहरु पनि निरीह थिए । किनकि आगो नियन्त्रण गर्ने दमकल बजारमा एउटा पनि थिएन । भुईंका माटो र ट्याङ्करका पानीले आगलागी नियन्त्रण प्रभावकारी बनिरहेको थिएन । त्यसैले आगो बढिरह्यो, एक हिसाबले रमिता चलिरह्यो । बम्का बजार, बाजुराका सरकारी अधिकारी मात्र नभएर सिंगो देश नै त्यो आगलागीका रमिते बने ।
बम्का बजारको त्यो दृष्य सिंगो देशको प्रतिनिधि संकट थियो । खोटाङको हलेसी, पाँचथरको फिदिम, ताप्लेजुङ लगायत बजारमा बम्काकै जस्तो अवस्था हामीले देखिसकेका छौं । नामै उल्लेख गर्दै जाने हो भने थुप्रै पेज आगलागीमा निरीह बन्नु परेको विवरणले भरिन्छ । किनकि स्थानीय सरकारहरुसँग आगलागी जस्ता प्रकोपबाट बच्न दमकल नै छैन । जबकि केन्द्रीकरण र शहरीकरण बढ्दो छ । शहरीकरणसँगै विजुलीको पहुँज र विद्युत्तीय उपकरणको प्रयोग बढ्दा आगलागीको जोखिम पनि बढिरहेकै छ । तर स्थानीय सरकारहरुको प्राथमिकतामा दमकल छैन, दमकल किन्ने पैसा छैन । खासमा दमकल किन्ने चासो र चिन्ता जनप्रतिनिधिहरुसँग छैन ।
स्थानीय सरकारसँग मात्र नभएर प्रदेश र संघसँग पनि आगलागीको प्रकोपबाट जोगिन आवश्यक दमकलको जोहोतर्फ ध्यान देखिदैन । बरू ठूल्ठूला टावर, पार्क र स्तम्भ निर्माणलाई संघीय सरकारले नै प्रोत्साहित गरेको देखिन्छ । संभवतः अहिले कुनै त्यस्तो पालिका छैन, जहाँ एउटा टावर, केही पार्क र नेताका नाममा स्तम्भ नबनेका होस् । जबकि पहाड आफैमा टावर हो । सगरमाथा भन्दा अग्लो टावर बनाएर संसारमा प्रसिद्धि कमाउने र आर्थिक उपार्जन गर्न सम्भव पनि छैन । त्यसैले टावर निर्माणको बाटो सही होइन । सही बाटो त मानवीय विकासमा लगानी नै हो । प्रकोपजन्य घटनाको न्यूनीकरणका निम्ति आवश्यक भौतिक पूर्वाधार र उपकरणको जोहो नै हो । र बिर्सन मिल्दैन– नागरिकको सम्पत्ति जलिरहँदा रमिता हेरेर बस्ने सरकार भत्र्सनालायक पनि होइन ।