२०८२ जेठ २३ गते शुक्रवार / Jun 06 , 2025 , Friday
२०८२ जेठ २३ गते शुक्रवार
Ads

श्रीलङ्काका पूर्व स्पिनरमाथि म्याच फिक्सिङको आरोप

मध्यान्ह
२०८२ जेठ २२ गते १५:१०
श्रीलङ्काका पूर्व स्पिनरमाथि म्याच फिक्सिङको आरोप

काठमाडौंः श्रीलङ्काका पूर्व स्पिन बलर सचित्र सेनानायकले बिहीबार मुलुकमा खेलकुदमा भ्रष्टाचार मेटाउने उद्देश्यले ल्याइएको नयाँ कानुनअन्तर्गत मुद्दा चलाइने पहिलो व्यक्ति बनेका छन् ।

चालिस वर्षीय सेनानायकेमाथि दक्षिणी सहर हम्बनटोटाको उच्च अदालतमा सन् २०२० को स्थानीय प्रतियोगितासँग सम्बन्धित म्याच फिक्सिङको आरोप लगाइएको छ । उनी सन् २०२३ सेप्टेम्बरमा पक्राउ परेपछि हाल जमानतमा छन् । उनले आरोपहरू अस्वीकार गरेका छन् ।

चौरहत्तर अन्तर्राष्ट्रिय खेल खेलेका सेनानायकले अन्तिम पटक सन् २०१६ मा श्रीलङ्काका लागि खेलेका थिए । उनीमाथि २०२० मा लङ्का प्रिमियर लिगका दुई खेलाडीलाई म्याच फिक्सिङका लागि प्रभाव पारेको आरोप छ ।

म्याच फिक्सिङलाई फौजदारी अपराध बनाउने सन् २०१९ को कानुनको उल्लङ्घन गर्ने सेनानायके पहिलो खेलाडी भएको प्रहरीले जनाएको छ । दोषी ठहरिएमा अधिकतम १० वर्षको जेल, १० करोड रुपैयाँ (तीन लाख ३३ हजार डलर) सम्मको जरिवाना वा दुवै हुन सक्छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले श्रीलङ्कालाई सबैभन्दा भ्रष्ट क्रिकेट खेल्ने राष्ट्रहरू मध्ये एक मानेको भनेपछि पूर्व खेलकुदमन्त्री हरिन फर्नान्डोले यो कडा नयाँ कानुन ल्याएका थिए।

अर्का पूर्व खेलकुदमन्त्री महिन्दानन्द अलुथगामागेले सन् २०२१ मा संसद्मा देशमा म्याच फिक्सिङ व्याप्त रहेको बताएका थिए । अलुथगामगेलाई असम्बन्धित भ्रष्टाचारको मुद्दामा २० वर्षको जेल सजाय भएको थियो ।

श्रीलङ्काका सन् १९९६ को विश्वकप विजेता कप्तान अर्जुन रणतुङ्गाले सन् २०१२ मा राष्ट्रिय टोलीमा ‘कुव्यवस्थापन, भ्रष्टाचार र अनुशासनहीनता’ भन्दै विरोध गर्दै प्रशंसकहरूलाई खेल बहिष्कार गर्न आग्रह गरेका थिए। एजेन्सी

ADV

सम्बन्धित खबर