आफ्ना नेता एवं कार्यकर्ता समातिएको बदलामा राजावादीहरुले हठात् उपत्यका बन्दको आह्वान गरेका थिए । तर सरकारले पक्राउ परेका नेताहरु कमल थापा, दीपक सिंह लगायतलाई आइतबार साँझै रिहा गरिदियो । पूर्व गृहमन्त्री थापा, सांसद सिंह लगायतलाई पक्राउ गर्नुको बलियो कारण थिएन । यद्यपि व्यवस्था उल्ट्याउने माग राखेर चलिरहेको राजावादी आन्दोलनको नेतृत्व गरेका नेताहरुलाई सरकारले गिरफ्तार ग¥यो । गिरफ्तारको बदलामा राजावादीहरुले लिएको निर्णयका कारण उनीहरुको आन्दोलन फेरि विभाजित बन्न पुगेको देखिन्छ । किनकि राजावादी शक्तिहरु मध्ये सवभन्दा ठूलो घटक राप्रपाले अर्को निर्णय नभएसम्म सडक प्रदर्शनमा नउत्रने निर्णय लिएको छ । राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले बन्द हड्ताल जस्ता निर्णयमा पार्टीले विश्वास नगर्ने भएकाले अर्को निर्णयको प्रतिक्षा गर्न आग्रह गरेका थिए ।
राप्रपाले मत बदलेसँगै अरू राजावादी घटक पनि बन्दको निर्णयबाट पछि हटे, र सोमबार राजधानी उपत्यका हड्तालबाट जोगियो । यद्यपि केही राजावादी पक्राउ परेको प्रहरीले जनाएको छ । बन्द हड्तालबाट राजधानी जोगिए पनि देशभर यातायात व्यवसायीको आन्दोलनको असर परेको छ । यातायात व्यवसायीले विभिन्न सात बुँदे माग राखेर सोमबारदेखि सवारी सञ्चालन अवरुद्ध गरेको छ । माग पूरा नभएसम्म सवारी साधन सञ्चालन नगर्ने उनीहरुको माग छ । माग पूरा गराउन सडक अवरुद्ध गर्ने, सवारी साधन चल्न नदिने, बजार पशल खोल्न नदिने र आम साधरणलाई कष्ट दिने पुरानै शैली हो । राइड शेयरिङ सेवासँग देखिएको तकराबमा यातायात व्यवसायी त्यही पुरानै शैली अपनाएर सर्वसाधरणलाई कष्ट दिएका छन् ।
व्यवस्था उल्ट्याउन चाहने राप्रपा र सरकारसँग माग राखेर आन्दोलन गर्ने यातायात व्यवसायीले मात्र नभएर सरकारकै नेतृत्व गर्ने राजनीतिक शक्तिहरुले पनि जनतालाई कष्ट दिन छाडेको देखिन्न । सरकारको नेतृत्व गरिरहेको नेकपा एमालेले पटकपटक सडक प्रदर्शन गरिरहेको छ । राजधानी कब्जा गर्ने सार्वजनिक अभिव्यक्ति दिएर प्रधानमन्त्री केपी शर्मा ओली विवादमै तानिए । यद्यपि सडक प्रदर्शन रोकेनन् । गणतन्त्र दिवसको अवसरमा गत १५ जेठमा सडक प्रदर्शन ग¥यो, सास्ती जनतालाई भयो । माओवादी केन्द्र, एकीकृत समाजवादी लगायत शक्तिले पनि लगातार सडक प्रदर्शन गरिरहेका छन् । असर आम साधरणलाई नै परिरहेको छ । अहिले प्रमुख दलहरुबाट राजनीतिक निकास सम्भव छैन भनेर आन्दोलन थालेका राजावादीहरुमा नयाँ शैली देखिएन । जबकि आम नागरिकको चेतना र जीवन प्रणालीमा असाध्यै ठूलो परिवर्तन आइसकेको छ । यसतर्फ ध्यान जान जरुरी छ ।