काठमाडौं : नेपाल बाल मन्दिरको जग्गा लिज प्रकरणमा १७ जनाविरुद्ध मुद्दा दर्ता भएको छ । जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले बुधबार जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौंको नक्सालस्थित नेपाल बाल मन्दिरको २८ रोपनी ५ आना जग्गा लिज प्रकरणमा उनीहरूविरुद्ध जिल्ला सरकारी वकिलको कार्यालयले मुद्दा दर्ता गरेको हो । मुद्दा दर्ता गर्दै ६० करोड बढी रकम माग दाबी गरिएको छ ।
फाइल प्राप्त भएसँगै सबै प्रक्रिया पूरा गरी अदालतमा मुद्दा दायर गरिएको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेले जानकारी दिए । जिल्लाले मुद्दा चलाउन नपर्ने निर्णयसहित महान्यायाधिवक्ताको कार्यालयमा पठाएकामा अनुसन्धानपछि मुद्दा चलाउनुपर्ने देखिएकाले ठगी मुद्दा चलाइएको हो ।
मुद्दामा उपप्रधान तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहकी दिदी तथा बाल मन्दिरकी तत्कालीन अध्यक्ष रीता सिंह वैद्य, उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ, गणेशभक्त श्रेष्ठ, कृष्णशंकर शाह, श्यामकुमार आले, सुवासकुमार पोखरेल, प्रचण्डराज प्रधान, रामकाजी कोने, योगेन्द्रबहादुर शाही, दीपकदास श्रेष्ठ, प्रवीणराज जोशी र मुरारिनिधि तिवारीलाई विपक्षी बनाइएको छ । तत्कालीन अभ्यक्ष सिंह लामो समय बाल मन्दिरको नेतृत्वमा थिइन् ।
यस्तै, पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईं, अमिन सिंघानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूविरुद्ध मुलुकी ऐन ठगीको महलको १ र २ नम्बर तथा मुलुकी अपराध संहिता, २०७४ को दफा २४९ को उपदफा १ र २ कसुरमा मुद्दा चलाइएको हो । आरोप प्रमाणित भएमा उनीहरूलाई ७ वर्ष कैद र ७० हजार रुपैयाँसम्म जरिमाना हुन सक्ने छ ।
यो प्रकरणमा कांग्रेस नेता चिरञ्जीवी तिवारी, बाल मन्दिरका तत्कालीन कोषाध्यक्ष मनोहरगोपाल श्रेष्ठ र उपमहासचिव सुमन शाक्य पनि मुछिएका छन् तर उनीहरूको निधन भइसकेको छ । ‘अपराधीको मृत्युसँगै अपराध मर्छ’ भन्ने फौजदारी कानुनको सिद्धान्तअनुसार उनीहरूविरुद्ध मुद्दा नचलाइएको हो ।
मृत्यु भएकाहरू तिवारी बृहस्पति विद्यालय व्यवस्थापन प्रा. लि. (बृहस्पति विद्या सदन)का अख्तियारप्राप्त तत्कालीन अध्यक्ष थिए । यस्तै, श्रेष्ठ नेपाल बाल संगठनका तत्कालीन कोषाध्यक्ष र शाक्य नेपाल बाल संगठनका तत्कालीन उपमहासचिव थिए ।
यसअघि २७ वैशाख २०८१ मा बाल मन्दिर जग्गा प्रकरणमा २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो, जसमध्ये तत्कालीन उपाध्यक्ष तुलसीनारायण श्रेष्ठ पक्राउ परेकामा बयानपछि हाजिरी जमानीमा छाडिएको थियो ।
नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले (सीआईबी)ले अनुसन्धान सकेर माघ दोस्रो साता जिल्ला सरकारी वकिलको कार्यालयमा फाइल पेस गरेकामा जिल्ला र उच्च सरकारी वकिलको कार्यालयले उक्त प्रकरणमा मुद्दा चलाउन नपर्ने निर्णयसहित सिफारिस गरेकामा महान्यायाधिवक्ताको कार्यालयले मुद्दा चलाउने निर्णय गर्दै फाइल जिल्लामा पठाएको थियो ।
के हो मुद्दा ?
२०२१ सालमा राष्ट्रिय निर्देशन ऐनअनुसार ११९ रोपनी १२ आना ३ पैसा जग्गामा नेपाल बाल संगठन (बाल मन्दिर) स्थापना भएको थियो, जसमध्ये २८ रोपनी ५ आना जग्गा २०५९ सालमा उक्त जग्गा बृहस्पति विद्या सदनलाई भाडामा दिइएको थियो ।
२०८९ सालसम्म ३० वर्षका लागि भाडामा दिने सम्झौता भए पनि समयावधि सकिनुभन्दा १७ वर्षअघि नै ३ साउन २०७२ मा थप ४३ वर्षका लागि अर्थात् २१२७ सालसम्मका लागि सो जग्गा लिजमा दिइएको थियो ।
पछिल्लो सम्झौताअनुसार यो जग्गा बृहस्पति विद्या सदनले २१२७ सालसम्म उपभोग गर्न पाउने देखिएको छ । भाडा दर प्रतिरोपनी ३ लाख ९३ हजार रुपैयाँका दरले २८ रोपनीभन्दा बढी जग्गाको वार्षिक भाडा १ करोड १० लाख रुपैयाँ लिनेगरी नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष सिंह र बृहस्पति विद्या सदनका तर्फबाट पुरुषोत्तमराज जोशीले सम्झौता गरेका थिए ।
कौडीको भाउमा मिलेमतोमा बिनाप्रतिस्पर्धा लिजमा लगाई अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुनेगरी लिजमा लगाइएको आरोपमा उजुरी परेपछि उक्त घटना बाहिर आएको थियो ।
सीआईबीले अनुसन्धान सकेर प्रतिवेदन पठाए पनि राजनीतिक आडमा उनीहरूलाई उन्मुक्ति दिन खोजिएको आरोप लागेको थियो ।
जग्गा प्रकरणमा विपक्षी बनाइएका पुरुषोत्तमराज जोशी, श्रद्धा सेढाईं, अमिन सिंघानियाँ, सिद्धार्थ केडिया र कीर्तिप्रसाद पाण्डेमाथि कौडीको भाउमा मिलेमतोमा बिनाप्रतिस्पर्धा लिजमा लगाई अपचलन गरी व्यापारिक समूहलाई लाभ हुने र सरकारलाई नोक्सान हुनेगरी लिजमा लगाइएको आरोप छ ।
को हुन् भारतीय नागरिक ?
यस प्रकरणमा ३ जना भारतीय नागरिकविरुद्ध पनि मुद्दा दर्ता भएको छ । तीमध्ये राई स्कुलका प्रिन्सिपल कीर्ति पाण्डे पनि हुन् । राई बृहस्पति विद्या सदनमा समेत संचालक छन् ।
काठमाडौं– ३०, ज्ञानेश्वरमा बस्ने उनी भारतको कर्नाटक राज्यको बेडलोरका स्थायीबासी हुन् । यस्तै, भारतीय नागरिकहरू सिद्धार्थ केडिया र अभिनव सिंघानियाँ पनि प्रतिवादी छन् ।
तीनै जना बृहस्पति विद्या सदनका संचालक हुन् ।
सिंघानियाँ काठमाडौं महानगरपालिका– ४ स्थित बालुवाटार र केडिया ललितपुर महानगरपालिकास्थित सानेपामा बस्दै आइरहेका छन् ।
सिंघानियाँको स्थायी घर भारतको दिल्ली हो भने केडियाको भारतको राजस्थान राज्यको जयपुर हो ।