काठमाडौंः राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नीति तथा कार्यक्रम विगतको कपि पेस्ट भएको र गर्न नसकिने कामहरू मात्रै समावेश गरेको भन्दै सरकारको आलोचना गरेका छन् । बिहीबार बसेको प्रतिनिधि सभाको बैठकमा आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै उनले यस्तो भनेका हुन् ।
उनले नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो भन्दै सरकारको व्यङ्ग्य गरे । उनले राष्ट्रलाई व्यापक दलीय करण गर्ने, संवैधानिक निकायहरू कब्जा गर्ने, राष्ट्र बैङ्क कांग्रेसको भागमा र धितोपत्र एमालेलाई दिइएको खुल्लमखुल्ला बहस गराइएको भन्दै ती विषयलाई पनि नीति तथा कार्यक्रममा समेट्न सरकारलाई व्यङ्ग्यात्मक शैलीले टिप्पणी गरे।
उनले भने, ‘गर्न नसकिने र नगरेका काम लेख्ने, अनि गरेको काम नलेख्ने । यहाँ लेख्या भए हुन्थ्यो त, नयाँ दलहरूमाथि राजनीतिक प्रतिशोध साँधिन्छ, रवि लामिछाने, रेशम चौधरी लगायतलाई अवैधानिक तरिकाले नियन्त्रण गरिन्छ भनेर लेखेको भए हुन्थ्यो । राष्ट्रलाई व्यापक दलीय करण गरिन्छ, संवैधानिक निकायहरू कब्जा गरिन्छ लेखेको भए हुन्थ्यो । दलीय करणलाई निरन्तरता दिइन्छ भनेर लेखेको भए हुन्थ्यो नि त । अझै, दलीय करणलाई भुईँसम्म पुर्याइन्छ भनेर लेखेको भए हुन्थ्यो । सदनको सिर्जनालाई मारिनेछ, आरोप र प्रत्यारोपको बहस गराइनेछ, यतिसम्म कि रक्सी मैले चोरेको होइन भनेर बहस गराइन्छ भनेर लेखेको भए हुन्थ्यो ।’
उनले नीति तथा कार्यक्रम यथास्थितिलाई निरन्तरता प्रदान गर्ने दस्ताबेज रहेको टिप्पणी गरे ।