काठमाडौं : अन्नपूर्ण प्रथम आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको छ ।
८ हजार मिटरमाथिका हिमालमा पहिलोपटक मानव पाइला परेको अन्नपूर्ण प्रथम (८०९१ मि) आरोहण भएको ७५ वर्ष पूरा भएको अवसरमा १६–२२ जेठसम्म ‘अन्नपूर्ण हिरक महोत्सव’ मनाइने भएको हो ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङमा अवस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणको ७५ वर्ष पूरा भएको अवसरमा महोत्सव हुन लागेको हो । अन्नपूर्ण गाउँपालिकाको नेतृत्वमा पर्यटन बोर्ड, पर्वतारोहण संघ, एक्याप र स्थानीय पर्यटन व्यवस्थापन समितिको आयोजनामा महोत्सव हुनेछ ।
३ जुन १९५० मा फ्रान्सेली पर्वतारोही मौरिस हार्जोग नेतृत्वमा लुइस लचेन र २ नेपाली शेर्पासमेत ४ जनाले अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेका थिए । अन्नपूर्ण प्रथम हिमालको पश्चिमोत्तर मोहडाबाट मात्र ७५ वर्षदेखि अन्नपूर्ण हिमाल प्रथम हिमाल आरोहण हुँदै आएको छ ।
हिरक जयन्तीको असवरमा अन्नपूर्ण प्रथम हिमालको उत्तरी मोहडामा रहेको बेस क्याम्पमा पहिलो आरोही मौरिस हार्जोग, लुइस लचेनल र नेपाली सहयोगी सोनाम वाङ्चुक शेर्पाको सालिक निर्माण गरिएको छ । सालिकको प्रधानमन्त्री केपी शर्मा ओलीले अनावरण गर्ने कार्यक्रम छ । अनावरणसँगै प्रथम अन्नपूर्ण आरोही मौरिस हार्जोगको परिवारले उनले अन्नपूर्ण हिमाल आरोहण गर्दा प्रयोग गरेका उपकरण अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालय पोखरामा रहने गरी हस्तान्तरण गर्नेछ ।
त्यसैगरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ नारच्याङदेखि बेसक्यााम्पसम्म पदयात्रा, मौरिस हर्जोगको सम्मानमा ‘मौरिस हर्जोग पदमार्ग’ उद्घाटन, बेसक्याम्प–नारच्याङसम्म म्याराथन दौड र स्थानीय कला संस्कृति पनि प्रदर्शन गरिने महोत्सव मूल समारोहका संयोजक तथा अन्नपूर्ण गाउँपालिका अध्यक्ष भारतकुमार पुनले जानकारी दिए ।
अन्नपूर्ण हिमशृंखलाका अन्नपूर्ण साउथ प्रथम, दोस्रो, तेस्रो, चौथोसहित निलगिरी साउथ, तिलिचो पिक, बराह शिखरसमेत १४ वटा हिमाल पर्छन् । अन्नपूर्ण साउथ र प्रथम चुचुरो म्याग्दीमा र दोस्रो, तेस्रो र चौथो चुचुरो भने कास्कीमा पर्छ । माछापुच्छ्रे हिमालको पूर्वमा पर्ने अन्नपूर्ण हिमालको तेस्रो र चौथो चुचुरोको फेदीलाई अन्नपूर्ण बेस क्याम्पको रूपमा बढी चर्चित छ ।