खोटाङ : खोटाङको खोटेहाङ गाउँपालिकाले अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई सम्मान गरेको छ ।
फरकफरक समुदायका भए पनि अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरेको हो ।
दलित लक्षित कार्यक्रमअन्तर्गत विनियोजित रकमबाट अन्तरजातीय विवाह गर्ने जोडीलाई सम्मान गरिएको गाउँपालिकाका अध्यक्ष उदिमबहादुर राईले जानकारी दिए। ‘हाम्रो समाजमा अझै पनि जातीय विभेदको ठूलो पर्खाल छ । सदियौँदेखि जगेडिएर बसेको जातीय विभेद अन्त्य गर्न आवश्यक छ’, उनले भने, ‘हाम्रो पालिकामा फरकफरक समुदायका भए पनि विवाह बन्धनमा बाँधिएर राम्ररी घरजम गरेर बसेका छन् । उहाँहरूलाई गाउँपालिकाको तर्फबाट प्रोत्साहनस्वरुप नगदसहित सम्मान गरिएको हो ।’
गाउँपालिकाको कार्यालय खोटेहाङले वडा नं १ लिकुवापोखरीका ४, वडा नं २ वाप्लुखाका १, वडा नं ३ सावाकटहरेका ४, वडा नं ४ बडकादियालेका ४ जोडीलाई सम्मान गरेको छ । त्यस्तै, वडा नं ६ इन्द्रणीपोखरीका छ, वडा नं ७ खोटाङबजारका १, वडा नं ८ सिम्पानीका ११ र वडा नं ९ लिच्कीराम्चेका ९ जोडीलाई सम्मान गरिएको गाउँपालिका उपप्रमुख रुपेश राईले जानकारी दिए । उनका अनुसार वडा नं ५ चिप्रिङमा केही समयपछि अर्को चरणको कार्यक्रम राखेर सम्मान गरिने छ ।
अन्तरजातीय विवाह गरेपछि अदृष्य रूपमा सामाजिक हिंसामा रहेका जोडीलाई गाउँपालिकाले नगदसहित सम्मान गरेपछि उनीहरू हर्षित भएको गाउँपालिकाका अध्यक्ष राईले बताए । उनका अनुसार अन्तरजातीय विवाह गर्ने जोडीलाई गाउँपालिकाले सचेतनामूलक अभियानसँगै वडावडामा विविध कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो ।
गाउँपालिकाले गरेको सम्मानले सभ्य समाज निर्माणमा ठूलो टेवा पुग्ने अपेक्षा गरिएको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ खोटेहाङ गाउँपालिका कार्यसमितिका सचिव युवराज विश्वकर्माले बताए ।