डोल्पा : डोल्पा जिल्लाको ठुली भेरी नगरपालिका वडा नं. ११ स्थित रह गाउँमा केही दिनदेखि भाइरल रुघाखोकीको महामारी फैलिएको छ । स्थानीय बासिन्दाहरूका अनुसार गाउँका प्रत्येक घरमा बालबालिका, युवा, वृद्ध सबैलाई ज्वरो, खोकी, टाउको तथा हातगोडा दुख्ने समस्या देखिएको छ ।
स्वास्थ्य चौकीका अहेब बुद्धिप्रसाद आचार्यका अनुसार भाइरल तीव्र रूपमा फैलिँदा उपचारको चाप अत्यधिक बढेको छ । “स्वास्थ्य चौकीमा औषधि छैन । माग फारम पठाउँदा पनि थोरै मात्र औषधि आउँछ, जुन सेवाग्राही धेरै भएकाले चाँडै सकिन्छ,” उनले बताए । औषधि अभावका कारण राति समेत बिरामी उपचार गर्न जानुपर्ने अवस्था आएको उनले उल्लेख गरे ।
सरकारले तोकेको ९८ प्रकारका औषधि आधारभूत स्वास्थ्य सेवाअन्तर्गत निःशुल्क दिने व्यवस्था भए पनि रह स्वास्थ्य चौकीमा तीमध्ये धेरैजसो औषधि उपलब्ध छैनन् । सामान्य सिटामोलसमेत नपाइने अवस्था रहेको बताइएको छ । संघीयता कार्यान्वयनपछि औषधि खरिदको अधिकार स्थानीय सरकारलाई दिइएको भए पनि पर्याप्त मात्रामा व्यवस्था हुन सकेको छैन ।
बर्थिङ सेन्टर प्रयोगविहीन
यसैबीच, रह गाउँमा रहेको बर्थिङ सेन्टर पनि तीन वर्षदेखि प्रयोगविहीन अवस्थामा छ । २०७८ सालमा निर्माण सम्पन्न भएको बर्थिङ सेन्टरमा आवश्यक सामग्री र जनशक्ति भए पनि स्वास्थ्यकर्मीले आवश्यक तालिम नपाउँदा र उपकरण जडानमा सहकार्य नहुँदा सेवा सञ्चालन हुन नसकेको अहेब आचार्यले बताए ।
हाल बर्थिङ सेन्टर सञ्चालनका लागि ३ जना कार्यालय सहयोगी र ४ जना स्वास्थ्यकर्मी कार्यरत छन् । गाउँमा १७० भन्दा बढी घरधुरी रहेका छन् । बर्थिङ सेन्टर सञ्चालनमा आए स्थानीय महिलाहरूले गर्भ जाँच र सुत्केरी सेवा गाउँमै पाउनेछन् । हाल भने उनीहरूलाई ४–५ घण्टाको भिरालो बाटो हिँडेर जिल्ला अस्पताल दुनै जानु परेको छ भने केही महिला घरमै सुत्केरी हुने गरेका छन् ।
बर्थिङ सेन्टर सञ्चालनको अवस्थालाई लिएर जिल्ला समन्वय समिति डोल्पाका प्रमुख श्यामबहादुर रोकायाले हालै रह गाउँको स्वास्थ्य चौकी, बर्थिङ सेन्टर र वडा कार्यालयको अनुगमन तथा निरीक्षण गरेका छन् । उनले बर्थिङ सेन्टर तत्काल सञ्चालन गर्न, औषधि अभाव सम्बोधन गर्न तथा वडा कार्यालय आफ्नै भवनबाट सञ्चालन गर्न सम्बन्धित निकायमा समन्वय गर्न निर्देशन दिएका छन् ।