–राजेन्द्र गजुरेल
श्रमिक वर्गमाथिको शोषण नेपाली समाजको गहिरो र जटिल समस्या हो, जुन दशकौंदेखि विभिन्न रूप र स्तरमा रहँदै आएको छ । विकासका नाममा हुने औद्योगिकीकरण, शहरीकरण र आधुनिकीकरणका प्रक्रियाले मजदुरको श्रमलाई प्रयोग गरे पनि तिनीहरूको जीवनस्तर उक्साउनेतर्फ कहिल्यै गम्भीर ध्यान दिइएको देखिँदैन ।
श्रमिकहरू उत्पादनका मेरुदण्ड हुन् तर तिनै श्रमिकहरू न्यूनतम पारिश्रमिक, असुरक्षित कार्यस्थल र सामाजिक सुरक्षा जस्ता आधारभूत अधिकारबाट बञ्चित छन् । श्रमिक वर्गलाई केवल श्रम दिने मेसिनझैं व्यवहार गरिन्छ, जसले उनीहरूलाई काम गर्ने क्षमताअनुसार मात्र मूल्यांकन गर्छ तर मानिसको रूपमा सम्मान गर्दैन ।
नेपालमा कृषिमा आधारित पारम्परिक श्रमिकदेखि लिएर निर्माण, गार्मेन्ट, यातायात, घरेलु कामदार र वैदेशिक रोजगारमा जाने श्रमिकहरू सबै शोषणको चपेटामा परेका छन् । घरभित्र काम गर्ने घरेलु श्रमिकहरू प्रायः महिला र किशोरी हुन्छन्, जो पारिश्रमिक नपाउने, मानसिक र यौन दुव्र्यवहार सहन बाध्य हुने अवस्था सामान्य जस्तै देखिन्छ ।
यस्ता श्रमिकहरूको आवाज समाजमा दबिन्छ किनभने उनीहरूको प्रतिनिधित्व गर्ने संस्था, पहुँच वा चेतना अभाव हुन्छ । वैदेशिक रोजगारीमा गएका श्रमिकहरू त अझ दुःखद् अवस्था भोगिरहेका हुन्छन् ।
उनीहरू महँगो खर्चमा दलालमार्फत विदेश पुग्छन्, त्यहाँ पुगेपछि सम्झौताको विपरीत काम गर्न बाध्य हुन्छन् । तलब नपाउने, छुट्टी नपाउने, बीमा नहुने, दुर्घटना हुँदा उपचार नपाउने अवस्थासम्म आइपुग्छ । यति हुँदा पनि देशभित्र उनीहरूको योगदानलाई सम्मान गर्नुको सट्टा उनीहरूलाई ‘कामदार’ मात्र ठानिन्छ ।
श्रमिक शोषण पारिश्रमिकमा सीमित छैन, यो सामाजिक र संरचनागत रूपमा संस्थागत भइसकेको छ । श्रमिक वर्गका सन्तानहरूलाई राम्रो शिक्षा पाउने अवसर कम हुन्छ, स्वास्थ्य सेवा पहुँचबाहिर हुन्छ र उनीहरूको सामाजिक उन्नति रोकिएको छ । श्रमिकहरूको यो अवस्था पुँजीवादको चरम उदाहरण हो, जहाँ मुट्ठीभर मालिकहरूले श्रमिकको पसिना र पीडामाथि महल खडा गर्छन् तर श्रमिकहरू झुपडीमै जीवन गुजार्न बाध्य छन् ।
अझ, श्रमिक युनियन गठन गर्ने, आफ्ना हक अधिकारका लागि बोल्ने प्रयास गर्दा उनीहरूलाई जागिरबाट हटाइने, धम्की दिने, कालो सूचीमा राख्नेजस्ता हर्कत पनि भइरहन्छन् ।
श्रमिकमाथिको शोषण अन्त्य गर्न राज्य, समाज र श्रमिक स्वयंले भूमिका खेल्न आवश्यक छ । राज्यले श्रम ऐनलाई कार्यान्वयनमा कडाइ गर्नुपर्छ, श्रमिकहरूका लागि न्यूनतम पारिश्रमिक, कार्यस्थल सुरक्षा, बीमा र अवकाश सुविधा सुनिश्चित गर्नुपर्छ । त्यस्तै, वैदेशिक रोजगारका क्षेत्रमा दलालको नियन्त्रण हटाएर पारदर्शी प्रणाली विकास गर्न आवश्यक छ ।
समाजले पनि श्रमलाई सम्मान गर्ने संस्कार विकास गर्नुपर्छ । कुनै पनि श्रम ठूलो–सानो हुँदैन भन्ने चेतना फैलाउनुपर्छ । श्रमिक वर्गलाई तल्लो स्तरको भनेर हेप्ने संस्कार हटाउनु आवश्यक छ ।
श्रमिक स्वयं पनि सचेत, संगठित र एकताबद्ध भएर आफ्नो अधिकारका लागि बोल्न तयार हुनुपर्छ । आत्मबल र एकता नै उनीहरूको सबल अस्त्र हुन सक्छ ।
श्रमिक वर्गमाथिको शोषणको अन्त्य आर्थिक सुधारले मात्र सम्भव हुँदैन, यसका लागि मानसिक, सामाजिक र राजनीतिक रूपान्तरण आवश्यक छ । जबसम्म श्रमिकलाई मानवअधिकारका दृष्टिकोणबाट हेर्ने अभ्यास हुँदैन, तबसम्म देशले गरेको विकास उच्च वर्गका लागि मात्र हुने छ ।
श्रमिकहरूलाई मात्र होइन, श्रमलाई पनि सम्मान गरिन्छ भन्ने चेतना व्यापक रूपमा फैलनु आवश्यक छ । श्रमिकको शोषण अन्त्य हुनु भनेको सामाजिक न्याय स्थापनाको बाटो खोल्नु हो, जसले समावेशी र समानतामूलक समाज निर्माणतर्फ डोहोर्याउँछ । त्यसैले, अब पनि समयमै नचिनिने हो भने, सामाजिक असमानता अझ गहिरिँदै जान्छ र त्यसको परिणाम सम्पूर्ण समाजले भोग्नुपर्ने छ ।