२०८२ वैशाख १९ गते शुक्रवार / May 02 , 2025 , Friday
२०८२ वैशाख १९ गते शुक्रवार
Ads

आपत्तिजनक अभिव्यक्ति

२०८२ वैशाख १० गते ०६:४०
आपत्तिजनक अभिव्यक्ति

शिक्षकहरूंको आन्दोलन चर्कंदै जाँदा शिक्षामन्त्री विद्या भट्टराईले राजीनामा दिएपछि देशकै मुख्य चासो यसैतर्फ तानिएको छ । आन्दोलनरत शिक्षकहरूले समेत आफ्नो माग शिक्षामन्त्रीको राजीनामा नरहेको प्रस्टोक्ति दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीकै असहयोगका कारण शिक्षामन्त्रीबाट भट्टराईले राजीनामा दिएको टिप्पणी भइरहेको छ । प्रधानमन्त्रीसँगै जोडेर एउटा योग्य मन्त्रीको राजीनामा आएको टिप्पणी आमनिष्कर्ष जस्तै बनिरहेको छ । आफ्नो नामसँग जोडिएर भइरहेको टिप्पणीप्रति प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै आक्रोश पोखेका छन् । नेपाल कम्युनिस्ट पार्टीको ७६औं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममार्फत प्रधानमन्त्री ओलीले शिक्षामन्त्रीको राजीनामाप्रति भइरहेको टिप्पणीको खण्डन गरेका हुन् । तर, खण्डनको भाषाले भने प्रधानमन्त्री पदको गरिमा बोक्दैन थियो । 

प्रधानमन्त्री ओलीले मन्त्री पदबाट राजीनामा गरेकी भट्टराईको योग्यतामाथि नै सार्वजनिक प्रश्न उठाएका छन् । मन्त्रालय चलाउन सक्ने सामथ्र्य भट्टराईसँग नरहेको प्रधानमन्त्रीको टिप्पणी थियो । आमसाधारणले उल्टो प्रतिक्रिया जनाइरहेका छन् । उनीहरूका अनुसार भट्टराईसँग नभएर ओलीसँग सरकार चलाउने योग्यता छैन । आमसाधारणले यस्तो प्रतिक्रिया जनाउनुमा भने शिक्षकहरूकै आन्दोलनका क्रममा प्रधानमन्त्री ओलीले दिएको अभिव्यक्ति कारण देखिन्छ किनकि शिक्षकहरूको आन्दोलनप्रति प्रधानमन्त्री ओलीले हलुका टिप्पणी गर्दै आएका छन् भने भट्टराईले मन्त्रीको हैसियतमा समस्या हल गर्न सक्दो पहल गरिरहेकी थिइन् । तर, प्रधानमन्त्री ओली र आन्दोलनरत शिक्षकहरूको अडान समस्या बनिरहेको छ । त्यसैले, प्रधानमन्त्री ओलीको अभिव्यक्तिप्रति आमनागरिकले चित्त बुझाउन सकेको देखिँदैन । 

अतः प्रधानमन्त्रीको टिप्पणीलाई जबाफेदहिता र मर्यादासँग तुलना गर्न सकिन्छ । अझ यो विषयलाई समाचार बनाउने आमसंचार माध्यमहरूप्रति प्रधानमन्त्री ओलीको अभिव्यक्ति शोभनीय र जिम्मेवार देखिँदैन । प्रधानमन्त्री ओलीले संचार माध्यमहरूले आफूविरुद्ध दुस्मनी लिएर एकताबद्ध प्रहार भइरहेको बताएका थिए । एउटा जिम्मेवार नेता र देशका प्रधानमन्त्रीका निम्ति यस्तो भाषा शोभनीय होइन । प्रधानमन्त्री र देशका प्रमुख दलका नेताले यस्तो बोल्दा आमसंचार माध्यमप्रतिको विश्वास कमजोर बन्छ । प्रेसप्रति हुने अविश्वासले लोकतन्त्रलाई कमजोर बनाउँछ किनकि शासकप्रति प्रश्न उठाउने स्वतन्त्र प्रेस लोकतन्त्रको अनिवार्य क्षेत्र हो । तर, प्रधानमन्त्री ओलीले स्वतन्त्र प्रेसलाई प्रभावित पार्ने र अविश्वास सिर्जना गर्ने प्रयास गरिरहेका छन् । यस्तो अनपेक्षित काम चौथो पटक प्रधानमन्त्री पद हाँकिरहेका ओलीजत्तिका व्यक्तिबाट आउनु मुलुकको हितमा हुन्दैन ।

ADV

सम्बन्धित खबर