
दोहा, कतार : गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् कतारले लामो समयदेखिको आन्तरिक विवाद र विभाजनलाई अन्त्य गर्दै ऐतिहासिक एकता घोषणा गरेको छ । करिब १० महिना अघिदेखि समानान्तर रूपमा चलिरहेका दुई कार्यसमिति शुक्रबार एक औपचारिक कार्यक्रममार्फत एकीकृत भएका हुन् ।
शुक्रबार दिउँसो १ बजेको लागि निर्धारित गरिएको समयभन्दा ५ मिनेट ढिलो कार्यक्रम सुरु गरेर अनुशासित र उदाहरणीय कार्य गरेको यस एकता सभामा एनआरएनएका अभियन्ताहरूको बाक्लो उपस्थिति थियो । समानान्तर एनसिसिका अध्यक्षद्धय कृष्ण पन्थी र पदम गिरीको सभाध्यक्षता तथा कतारका लागि नेपाली का.वा. राजदूत कुमार राइको प्रमुख आतिथ्यतामा एकता कार्यक्रम सम्पन्न भएको हो ।
केही समय पहिले आइसीसीका अध्यक्ष डा.हेमराज शर्माको रोहबरमा भएको सहमतिलाई मूर्त रूप दिँदै सभाले कृष्ण पन्थीलाई सर्वसम्मत रूपमा अध्यक्ष घोषित गरेको छ । अर्का समानान्तर एनसिसीका अध्यक्ष पदम गिरीलाई आइसिसीले उचित सम्बोधन गर्ने बताइएको छ । त्यस्तै एकल पद अन्तर्गत महासचिवमा शिव भुजेल र कोषाध्यक्ष प्रेम बस्नेत रहेका छन् । एनसिसीका अर्का महासचिव विवेक पुलामी मगरलाई उपाध्यक्ष पदमा र कोषाध्यक्ष कवीन्द्र कँडेललाई सचिव पदमा बढोत्तरी गरिएको छ भने प्रमुख सल्लाहकारमा केशव कार्कीलाई अनुमोदन गरिएको छ । दुवै कार्यसमितिका बाँकी पदलाइ तत पदमा गर्दै कायम गरिएको छ ।

कार्यक्रममा स्वागत मन्तव्य राख्दै अध्यक्ष पन्थीले हिजोका दिनमा आइसिसीमा देखिएको फुटको असरले एनसिसीमा पनि विभाजन ल्याएको स्वीकार गरे । उनले भने, ‘विगतका ती सबै परिस्थितिलाई पछाडि छोड्दै अब एनआरएनए एनसिसी कतार सदैवका लागि एक ढिक्का भएको छ र हामी सबै एक भएर अगाडि बढ्नेछौँ ।’ एकताको सुखद अवसरमा बोल्दै एनआरएनए आइसिसीका उपमहासचिव मोहम्मद मुक्तदा, सचिव रमेश भट्ट, सहकोषाध्यक्ष विमल सुबेदी, महिला संयोजक सरिता पौडेल भण्डारी, र एनसिसी कतारका प्रमुख सल्लाहकार केशव कार्की लगायतले एकताको महत्वमाथि आफ्ना विचार राखेका थिए । वक्ताहरूले समानान्तर एनसिसी हुँदा कतारस्थित नेपाली समुदायमा परेको अप्ठ्यारो र सामाजिक कार्यक्रमहरूमा निम्तो गर्दा समेत हुने गरेको नैतिक सङ्कट अब अन्त्य भएको बताए ।
दुई कार्यसमितिलाई एक ठाउँमा ल्याउन मध्यपूर्व उपसंयोजक करिम बक्स मियाले खेलेको समन्वयकारी भूमिकाको कार्यक्रममा उच्च प्रशंसा गरिएको थियो । कार्यक्रममा कतारमा स्थापित विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले समेत उपस्थित भई एकताको स्वागत गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि राईले मध्यपूर्व क्षेत्रमा सिर्जना भएको असहज परिस्थितिका कारण लामो समयसम्म समन्वय र सहकार्यमा चुनौती देखिएको उल्लेख गर्दै अहिले अवस्था सहज बन्दै गएको बताए । राईले ढिलै भए पनि एकताको सूत्रमा बाँधिन सफल भएकोमा सम्बन्धित सबै पक्षलाई हार्दिक बधाई तथा धन्यवाद व्यक्त गर्दै अन्य वक्ताले ऐतिहासिक एकता भने पनी आफूले त्यसलाई ऐतिहासिक नभन्ने स्पष्ट पारे । ‘एनआरएनए फुट्दा दूतावासको टाउको दुखाइ नै भएको थियो, परराष्ट्र मन्त्रालयमा दर्ता भएको र मन्त्रालयको निर्देशन अनुसार चल्ने एक मात्र नेपाली संस्था भएकाले कसलाई आधिकारिक मान्ने र कसरी सहकार्य गर्ने भन्नेमा अन्योल थियो,’ तर आजको सुखद एकतासँगै अब दूतावास र एनआरएनए कतारबिचको सहकार्यले निरन्तरता पाउने उनले बताए । नेपाली श्रमिक र सेवाग्राहीको हितलाई ध्यानमा राख्दै दूतावासले आफ्नो कार्यालय समय समेत थपेको बताउँदै ‘पहिले कार्यालय समय ४ बजेसम्म मात्र रहेकोमा अबदेखि दूतावास साँझ ५ बजेसम्म खुल्नेछ,’ राईले भने, ‘दूतावास भनेको नेपाली समुदायको सहयोगका निम्ति नेपाल राज्यको प्रतिनिधित्व गर्ने साझा घर हो ।’
कार्यक्रममा दुवै एनसिसीले पछिल्लो १० महिनामा गरेका कार्यप्रगती, आर्थिक लगायतका विभिन्न विषयहरूको सूक्ष्म अध्ययनका लागि आइसिसीका संस्थापक सदस्य तथा पूर्व उपाध्यक्ष सागर नेपालको संयोजकत्वमा सात सदस्यीय समिति गठन गरेको छ । एकता सभाकै अवसरमा कतारमा भर्खरै सम्पन्न ’वर्करर्स फुटबल कप– २०२६ मा सहभागी विभिन्न नेपाली फुटबल क्लबहरूलाई विशेष सम्मान गरिएको थियो । प्रवासमा श्रमिकहरूबीच खेलकुदको माध्यमबाट एकता र मनोरञ्जन प्रदान गर्ने ती क्लबहरूको योगदानलाई संघले कदर गरेको हो ।
त्यस्तै कार्यक्रममा आफ्ना धारणा राख्दै एनसिसी कतारका पूर्व अध्यक्ष कमलमणि गुरागाईँले आफूलाई सामाजिक सञ्जालमा विभिन्न व्यक्तिहरूले कटाक्ष गरिएको प्रति लक्षित गर्दै आफू विधि र विधान भन्दा बाहिर नगई पद्धतिमा बसेको र पदका लागी सामाजिक नैतिकता नभुलेको स्पष्ट पारे ।
उनले आइसीसीको बृहत् एकताको अधिवेशनबाट सर्व–सम्मत नेतृत्व चयन गर्ने नाममा निर्वाचन पक्रियामै सहभागी नभएका अभियन्ताहरूलाई समेत विभिन्न पदमा विजयी घोषणा गर्दा आफ्नो नाम पनि उपाध्यक्षमा घोषणा भएको जानकारी पाए लगत्तै आफूले विधि विधान विपरित नजाने बताउँदै तत्काल आइसीसीलाई पत्र लेखी पद अस्वीकार गरेको मध्यान्ह दैनिकमार्फत प्रमाण सार्वजनिक(सुरक्षित) गरेका छन् ।
कार्यक्रममा कतारमा रहेका विभिन्न जिल्ला संस्था, प्रदेश संस्थाका प्रतिनिधिहरू तथा प्रतिनिधिहरूको बाक्लो उपस्थिति रहेको थियो । महासचिव भुजेलले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष गिरीले विगतमा एनसिसीमा आएको फुटका कारण र परिस्थितिमाथि चर्चा गरे । उनले हिजोको फुट किन र कसरी भयो भन्ने प्रश्नहरू उठ्ने गरेको स्मरण गर्दै विधि विधान मान्ने र नमान्नेहरू अलग बाटो हिँडेको स्पष्ट पारे । उनले सबै मतभेदहरूलाई चिर्दै साझा उद्देश्यका लागि एकजुट हुनुको विकल्प नरहेको बताउँदै आफू एनआरएनए अभियानमा सदैव रहेको र रहने बताए । कार्यक्रममार्फत गिरी र प्रमुख अतिथि राईलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।