२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

पाकिस्तान-अफगानिस्तान द्वन्द्व : तीन महिनामा ३७० भन्दा बढी सर्वसाधारणको मृत्यु

Nada
२०८३ वैशाख २९ गते १६:२१
Shares
पाकिस्तान-अफगानिस्तान द्वन्द्व : तीन महिनामा ३७० भन्दा बढी सर्वसाधारणको मृत्यु

काठमाडौँ : पाकिस्तान र अफगानिस्तानबीच बढ्दो सीमापार सैन्य तनावका क्रममा चालु वर्षको पहिलो तीन महिनामा ठूलो संख्यामा सर्वसाधारणको ज्यान गएको संयुक्त राष्ट्रसंघले जनाएको छ ।

ncell

अफगानिस्तानस्थित संयुक्त राष्ट्र सहायता मिसन (युएनएएमए) का अनुसार जनवरी १ देखि मार्च ३१ सम्मको अवधिमा सरकारी सुरक्षा निकाय र पाकिस्तानी सेनाबीच भएका झडपमा कम्तीमा ३७२ अफगान नागरिक मारिएका छन् भने ३९७ जना घाइते भएका छन् ।

राष्ट्रसंघको विवरणअनुसार मृत्यु हुनेमध्ये ३१३ पुरुष, ४६ बालबालिका र १३ महिला रहेका छन् । प्रतिवेदनमा हवाई आक्रमण र सीमापार गोलीबारी प्रमुख कारणका रूपमा उल्लेख गरिएको छ । साथै एक मानवअधिकारकर्मीको पनि मृत्यु भएको जनाइएको छ ।

सन् २०२१ मा तालिबान सत्ता फर्किएपछि इस्लामाबाद र काबुलबीच सम्बन्ध क्रमशः चिसिँदै गएको पृष्ठभूमिमा पछिल्लो समय तनाव झनै बढेको देखिएको छ । गत फेब्रुअरीमा पाकिस्तानका रक्षा मन्त्रीले खुलेआम सैन्य द्वन्द्वको चेतावनी दिएको विवरण पनि प्रतिवेदनमा उल्लेख छ ।

पाकिस्तानले अफगान तालिबान सरकारले आतंकवादी समूहलाई आश्रय दिएको आरोप लगाउँदै आएको छ भने अफगान पक्षले पाकिस्तानले पनि आफ्ना विरोधी समूहलाई संरक्षण दिएको दाबी गर्दै आएको छ ।

युएनएएमएले सार्वजनिक गरेको तथ्यांक सन् २०११ यता उसले अभिलेख राख्न थालेपछिको सबैभन्दा उच्च नागरिक क्षति भएको जनाएको छ ।

पाकिस्तानी पक्षले यस अवधिमा १३० जना आफ्ना नागरिक तथा सुरक्षाकर्मी मारिएको बताएको छ । इस्लामाबादले आक्रमणहरू आतंकवादी तथा सैन्य संरचनामा मात्र केन्द्रित रहेको दाबी गर्दै अस्पताल वा नागरिक संरचना लक्षित नगरिएको स्पष्ट पारेको छ ।

गत सप्ताहान्तमा भएको झडपमा १५ जनाको मृत्यु भएको पाकिस्तानको विदेश मन्त्रालयले जानकारी दिएको छ, जसमा अधिकांश प्रहरी अधिकारी रहेका थिए ।

राष्ट्रसंघीय प्रतिवेदनले प्रभावित क्षेत्रमा स्वास्थ्य संस्थामा भएको क्षतिको तथ्यांक संकलन गर्न र बेपत्ता व्यक्तिहरूको खोजीमा सहजीकरण गर्न सम्बन्धित पक्षलाई आग्रह गरेको छ । साथै नागरिक बस्तीलाई लक्षित गर्ने वा विस्फोट गरिने गतिविधिबाट टाढा रहँदै अन्तर्राष्ट्रिय मानवीय कानुनको पालना गर्न पनि अपिल गरिएको छ ।

यसैबीच, चीनमा भएको हालैको कूटनीतिक वार्तापछि पाकिस्तान र अफगानिस्तानले तनाव न्यूनीकरण गर्ने प्रतिबद्धता जनाएका विवरण पनि सार्वजनिक भएका छन् ।

सम्बन्धित खबर