
काठमाडौँः मध्यपूर्वमा जारी तनावका कारण इन्धनको मूल्यमा भएको वृद्धिसँगै अस्ट्रेलियामा घरायसी खर्चमा उल्लेख्य बढोत्तरी भएको छ । अस्ट्रेलियन ब्युरो अफ स्ट्याटिस्टिक्स (एबीएस) ले मंगलवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार गत मार्च महिनामा घरायसी खर्च १.६ प्रतिशतले बढेको छ ।
एबीएसकाअनुसार जनवरीमा ०.२ प्रतिशत र फेब्रुअरीमा ०.३ प्रतिशतले बढेको घरायसी खर्च मार्चमा आइपुग्दा तिब्र गतिमा वृद्धि भएको हो । सन् २०२४ को मार्चको तुलनामा यो खर्च ६.३ प्रतिशतले बढी हो ।एबीएसका व्यवसाय तथ्याङ्क प्रमुख टम लेका अनुसार इन्धनको मूल्य वृद्धिका कारण यातायात लागतमा ५.१ प्रतिशतले वृद्धि भएपछि समग्र घरायसी खर्च बढ्न पुगेको हो । मार्च महिनाको सुरुदेखि नै इन्धनको मूल्य बढ्न थालेको र महिनाको अन्त्यतिर यो उच्च बिन्दुमा पुगेको तथ्याङ्कले देखाएको छ ।
मूल्य वृद्धिका कारण उपभोक्ताहरूको व्यवहारमा समेत परिवर्तन देखिएको छ । सवारी धनीहरूले एकैपटक धेरै इन्धन भर्नुको सट्टा पटक–पटक थोरै परिमाणमा इन्धन भर्ने गरेको पाइएको छ । त्यस्तै, निजी सवारी साधनको सट्टा सार्वजनिक यातायातको प्रयोगमा वृद्धि हुनुले पनि उपभोक्ताहरू महँगो इन्धनबाट बच्न खोजेको संकेत गर्दछ । यसैगरी, खाद्यान्न खर्चमा पनि १.७ प्रतिशतको वृद्धि देखिएको छ। विश्वव्यापी आपूर्ति शृङ्खलामा आउन सक्ने सम्भावित अवरोधका कारण सर्वसाधारणले सावधानीस्वरूप खाद्यान्न भण्डारण (स्टक) गरेकाले यो खर्च बढेको बताइएको छ ।
तथ्याङ्कअनुसार मार्च महिनामा इन्धनको मूल्य ३२.८ प्रतिशतले बढेपछि इन्धन खरिदको परिमाण भने १.३ प्रतिशतले घटेको छ । मार्च त्रैमासिकमा घरायसी खर्चको कुल परिमाण ०.७ प्रतिशतले बढेको छ, जुन लगातार छैटौँ त्रैमासिक वृद्धि हो । विशेषगरी स्वास्थ्य र खाद्यान्न जस्ता अत्यावश्यक क्षेत्रमा खर्च बढेका कारण यो वृद्धि देखिएको टम लेले जानकारी दिए । वार्षिक रूपमा हेर्दा, घरायसी खर्चको परिमाण २.८ प्रतिशतले बढेको छ, जुन सन् २०२३ को मध्ययताकै सबैभन्दा बलियो वार्षिक वृद्धि हो ।