२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

कतारका सरकारी अस्पतालमा हेल्थ कार्डको सट्टा आइडी कार्डले नै काम गर्ने

Nada
तिलु शर्मा पौडेल
२०८३ वैशाख ४ गते १९:५२
Shares
कतारका सरकारी अस्पतालमा हेल्थ कार्डको सट्टा आइडी कार्डले नै काम गर्ने

दोहा कतार : कतारका सरकारी अस्पताल तथा स्वास्थ्य चौकीमा उपचार गर्न जाँदा हेल्थ कार्डको आवश्यकता नपर्ने भएको छ । 

ncell

कतारका जनस्वास्थ्य मन्त्री महामहिम मन्सूर बिन इब्राहिम बिन साद अल महमुदले कतारमा बसोबास गर्ने बासिन्दाहरूका लागि सरकारी स्वास्थ्य संस्थाहरूबाट कतारी आइडीमार्फत सेवा लिन सकिने बताएका छन् । 

स्वास्थ्य मन्त्रालयले जारी गरेको नयाँ सूचना अनुसार हमाद मेडिकल कर्पोरेसन, प्राथमिक स्वास्थ्य सेवा कर्पोरेसन र अन्य सरकारी स्वास्थ्य संस्थाहरूमा जाँदा अब हेल्थ कार्डको सट्टा मान्य कतार आइडी देखाए पुग्ने स्पष्ट पारिएको छ । अस्पताल वा स्वास्थ्य चौकी जाँदा बिरामीको आइडी कार्डबाटै ‘हेल्थ नम्बर प्रमाणित’गरिने र आवश्यक सेवाहरू प्रदान गरिने भएको छ । 

सन् २०२६ को सर्कुलर नम्बर १० अनुसार हेल्थ कार्ड छाप्ने काम बन्द गरिएको जनाइएको छ । स्वास्थ्य कार्डका लागि लाग्दै आएको दस्तुर र यसको वार्षिक नवीकरण शुल्क भने साबिक बमोजिमनै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ ।

स्वास्थ्य मन्त्रालयले सबै नागरिक र बासिन्दाहरूलाई स्वास्थ्य केन्द्रहरू जाँदा अनिवार्य रूपमा आफ्नो राष्ट्रिय परिचयपत्र साथमा लैजान आग्रह गरेको छ । प्रशासनिक प्रक्रियालाई सरल बनाउन र सरकारी कागजातहरूलाई एकीकृत गर्ने उद्देश्यले यो कदम चालिएको मन्त्रालयले जनाएको छ । यसबाट बिरामीहरूले झन्झटरहित सेवा पाउने र उपचार प्रक्रिया थप सहज हुने विश्वास लिइएको छ । 

यसअघि सन् २०२५ सेप्टेम्बरमा मन्त्रालयले कतारी नागरिकहरूका लागि स्वास्थ्य कार्डको सट्टा राष्ट्रिय परिचयपत्र (आइडी) प्रयोग गर्ने निर्णय लागू गरेको थियो, जुन निःशुल्क रूपमा उपलब्ध गराइएको थियो ।

सम्बन्धित खबर