२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

शुभ रहोस् वर्ष २०८३

Nada
२०८३ वैशाख १ गते ०६:१०
Shares
शुभ रहोस् वर्ष २०८३

बितेर गएको वर्ष २०८२ उथलपुथलको वर्ष बन्न पुग्यो । नेपाली राजनीतिमा ठुलो उतारचढाव ल्याउँदै यो वर्ष बिदा भएको छ । दशकौं लामो संघर्षबाट संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना गरेका पुराना दलहरूको वर्चस्व यसै वर्ष भत्कियो । मुलुकको शासन व्यवस्था नयाँ वैकल्पिक शक्तिको हातमा आइपुग्यो । सिंहदरबारमा मात्र होइन, समग्र राजनीतिमै परिवर्तन देखियो । राजनीति र शासनसत्तामा पुस्तान्तरण भयो । निरन्तरताभित्रको यो क्रमभंगताले जनताको आकांक्षा र परिवर्तनको चाहनालाई प्रतिविम्बित गरेको छ । त्यसअर्थमा यो वर्ष स्मरणीय रहने छ ।

ncell

सँगै, नयाँ वर्ष २०८३ले आमनागरिकमा नयाँ उत्साह र अपेक्षा बढाएको देखिन्छ । ठुलो भौतिक तथा मानवीय क्षति व्यहोरेर आएको परिवर्तन नारामा सीमित नरहोस्, व्यवहारमै देखियोस् भन्ने चाहना आम रूपमा छ । त्यसका लागि झन्डै दुईतिहाइ बहुमतसहित सत्तारोहण गरेको रास्वपाले एउटा परिपक्व राजनीतिक दलका रूपमा आफूलाई विकास गर्नुपर्ने देखिन्छ । सबैभन्दा पहिले जनमुखी शासनका लागि आवश्यक सुधार गर्नुपर्छ । कानुनीराज कायम गर्नुपर्छ । त्यसका लागि संसद्मा लामो समयदेखि अल्झिएका कानुनहरू पारित हुनुपर्छ । अहिलेसम्म बेथितिको जुन दुष्चक्र चल्यो, त्यसलाई तोड्न सुशासनको स्पष्ट मानक स्थापित गर्नुपर्छ । त्यसका लागि सबैभन्दा पहिले सरकार इमानदार, पारदर्शी, जवाफदेही र जनमुखी बन्न अनिवार्य छ  । 

संविधानले नेपाललाई समाजवादउन्मुख मार्गमा अघि बढाउने स्पष्ट दिशा दिएको छ । त्यसलाई व्यवहारमा उतार्ने जिम्मेवारी अहिलेको सरकारको काँधमा छ । निजी र सामुदायिक क्षेत्रलाई प्रतिस्पर्धी मात्र होइन, साझेदारका रूपमा हेर्दै राज्यले अभिभावकत्वको भूमिका खेल्नुपर्छ । सन्तुलित र समावेशी विकासबाट मात्र समृद्धि सम्भव छ । त्यसका लागि पनि समाजको तल्लो वर्गले राज्यबाट वास्तविक संरक्षण पाउनुपर्छ । शिक्षा, स्वास्थ्य र रोजगारीजस्ता आधारभूत सेवा सबैका लागि सहज र पहुँचयोग्य हुनुपर्छ । अहिले रास्वपाले पाएको जनमतमा युवाहरूलाई वैदेशिक रोजगारीमा जान बाध्य पारिएको भाष्यले काम गरेको छ । आफैंले दिएको नारा व्यवहारमा उतार्न पनि स्वदेशमै रोजगारीका अवसर सिर्जना गर्नुपर्छ । उत्पादन र रोजगारी वृद्धि नै दीर्घकालीन योजनामा सरकारको ध्यान जानुपर्छ । 

अर्को महत्वपूर्ण पक्ष भनेको लोकतान्त्रिक अभ्यासको परिपक्वता हो । संसद्मा प्रतिपक्ष कमजोर देखिएको अवस्थामा सरकारले अझ बढी जिम्मेवार हुनुपर्छ । सबै पक्षको मत सुन्ने, आवश्यक बहस र छलफलबाट निर्णय लिने संस्कार विकास गर्नुपर्छ । अन्यथा, सदनमा नदेखिएको असन्तुष्टि सडकमा छताछुल्ल हुने खतरा रहिरहन्छ । त्यसका लागि जायज माग लिएर नागरिक सडकमा उत्रिनुपर्ने अवस्था नआओस् भन्नेमा सत्तासीनहरू सचेत रहनुपर्छ । नयाँ वर्षले विगतका कमजोरी सच्याउने अवसर दिएको छ । त्यसका लागि विगतका अराजकता, दुर्घटना र तनाव दोहोरिन नदिने प्रतिबद्धता आवश्यक छ । शान्ति, स्थिरता र विकासको बाटोमा देश अघि बढोस् । नयाँ वर्ष २०८३ सबैका लागि नयाँ उत्साह, आशा र सम्भावना लिएर आओस् ।  शुभकामना । 

uae

सम्बन्धित खबर