२०८३ कार्तिक १ गते शनिवार / Oct 17 , 2026 , Saturday
२०८३ कार्तिक १ गते शनिवार

पीडितविरोधी सञ्जाल

Nada
२०८२ चैत २५ गते ०६:१०
Shares
पीडितविरोधी सञ्जाल

सामाजिक सञ्जाल आज सूचना र अभिव्यक्तिको बलियो माध्यम बनेको छ । तर, यही माध्यम धेरै महिलाका लागि पीडाको कारण पनि बन्न थालेको छ । विशेषगरी यौन अपराध, घरेलु हिंसा वा व्यक्तिगत पीडाबारे बोल्ने महिलामाथि हुने गाली, अपमान र जथाभावी आरोपले पीडितलाई झन् पीडा दिने गरेको छ । कुनै महिलाले आफू पीडित भएको भन्दै आवाज उठाउँदा सहानुभूति पाउनुपर्ने हो । तर, व्यवहारमा उल्टो भइरहेको छ । सामाजिक सञ्जालमा उनीमाथि नै अनेक शंका गरेर चरित्रमाथि औंला उठाइन्छ । बलात्कारजस्तो जघन्य अपराधबारे बोल्दासमेत ‘चर्चा कमाउन खोजेको’, ‘ढिलो किन बोल्यो’भन्दै डिजिटल हिंसा गर्ने गरिन्छ । यसले पीडितलाई न्याय खोज्नेभन्दा पनि चुप बस्न बाध्य बनाउँछ ।

ncell

विभिन्न घटनामा महिलाले यस्तै व्यवहार भोग्दै आएका छन् । अदालतले दोषी ठहर गरिसकेका घटनामा समेत पीडितमाथि नै प्रश्न उठाइन्छ । यसले हाम्रो सामाजिक सोच कति कमजोर र पित्तृसत्तात्मक छ भन्ने पनि देखाउँछ । दोषीलाई फसेको रूपमा व्याख्या गर्दै पीडितलाई दोष दिने प्रवृत्ति हाबी छ । सामाजिक सञ्जालमा देखिने ‘भीड न्याय’ अर्को समस्या हो । अनुसन्धान र अदालतको प्रक्रिया अघि बढ्नुअघि नै मानिसहरूले आफ्नो निर्णय सुनाइदिन्छन् । कसैलाई दोषी ठहर गर्छन्, कसैलाई निर्दोष । कानुनले दिने न्यायभन्दा अघि नै सामाजिक सञ्जालले ‘फैसला’ गरिदिन्छ । यसले वास्तविक न्याय प्रक्रियामा असर मात्र पार्दैन, अदालती प्रक्रियासमेत प्रभावित पार्न सक्छ । 

महिलामाथि सामाजिक सञ्जालमा हुने यस्ता व्यवहार कानुनी रूपमै गलत हो । गाली, चरित्रहत्या र अपमानजनक टिप्पणी अपराधकै दायराभित्र पर्छन् । तर, पीडितहरू दिनहुँ यस्ता डिजिटल हिंसाको सिकार भइरहेका छन् । जिम्मेवारीबोध बिना लेखिने कमेन्टले पीडितको मानसिक स्वास्थ्यमा गम्भीर असर पारिरहेको छ । यो समस्या समाधानका लागि सोच बदल्न जरुरी छ । पीडितको कुरा सुन्ने संस्कार विकास गर्नुपर्छ । कुनै घटना वा मुद्दामा तपाईं असहमत हुन सक्नुहुन्छ । तर, कसैलाई अपमान गर्ने अधिकार तपाईंलाई छैन । न्याय खोज्ने व्यक्तिलाई समाजले नै हौसला दिनुपर्छ, हतोत्साहित होइन । राज्यले पनि यसतर्फ ध्यान दिन जरुरी छ । सामाजिक सञ्जालमा हुने दुव्र्यवहार रोक्न कानुनको प्रभावकारी कार्यान्वयन आवश्यक छ । समाज सभ्य तब हुन्छ, जब हरेक पीडितले सुरक्षित महसुस गर्छन् । निधक्क आफ्ना गुनासो र विचार सामाजिक सञ्जालमा राख्न सक्छन् । पीडितले नडराई न्यायको लडाइँ लड्न सक्छन् । अन्यथा, सामाजिक सञ्जाल पीडितका लागि झन् पीडा दिने यातना केन्द्र बन्दै जानेछ ।

uae

सम्बन्धित खबर