
नेपालमा लागूऔषध कारोबारको स्वरूप बदलिँदै गएको छ । पछिल्लो समय देशभित्र मात्र होइन, अन्तर्राष्ट्रिय सञ्जालको ट्रान्जिट प्वाइन्टका रूपमा नेपाल प्रयोग हुन थालेको देखिन्छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बारम्बार विदेशी नागरिक ठुलो परिमाणमा लागूऔषधसहित पक्राउ पर्नुले यसैलाई संकेत गर्दछ । कारागार व्यवस्थापन विभागका अनुसार लागूऔषध कारोबारको आरोपमा ६ सय ३७ विदेशी नागरिक अहिले पनि नेपाली जेलमा छन् । लागूऔषध नियन्त्रण ब्युरोका अनुसार पछिल्लो ९ महिनामा मात्रै ८१ विदेशी र १ सय ५८ नेपाली नागरिकविरुद्ध मुद्दा दर्ता भएको छ । पछिल्ला तीन वर्षमा लागूऔषधको अवैध कारोबारमा विदेशी संलग्नता बढ्दो क्रममा छ । यसले नेपाललाई अन्तर्राष्ट्रिय तस्कर समूहले सुरक्षित ‘रुट’का रूपमा प्रयोग गर्न थालेको देखाउँछ ।
विशेषगरी थाइल्यान्ड, दक्षिण अमेरिकालगायत क्षेत्रबाट लागूऔषध नेपाल भित्र्याएर भारत वा अन्य देश पठाउने प्रवृत्ति बढेको छ । तस्करहरूले डिजिटल माध्यम प्रयोग गरेर सञ्जालमार्फत कारोबार गरेको पनि अनुसन्धानले देखाएको छ । जबकि कारोबारीबीच प्रत्यक्ष चिनजानसमेत हुँदैन । उनीहरू ‘भरिया’का रूपमा मात्र प्रयोग भइरहेका छन् । मुख्य गिरोहसम्म पुग्न कठिन हुन्छ । यसले अपराध नियन्त्रणलाई झन् चुनौतीपूर्ण बनाएको छ । लागूऔषधको कारोबार फैलिँदै जानुमा हाम्रो कमजोर नियन्त्रण संयन्त्र मुख्य कारण मानिन्छ । शंकास्पद गतिविधिमा न राम्रो निगरानी छ, न त नियन्त्रणका लागि अन्तर्राष्ट्रिय समन्वय नै प्रभावकारी देखिन्छ । विमानस्थलमा चेकजाँच भए पनि तस्करहरूले नयाँ तरिका अपनाइरहेका छन् । शरीरभित्र, लुगाभित्र वा अन्य जटिल माध्यम प्रयोग गरेर लागूऔषध ल्याउने क्रम बढेको छ । लागूऔषधको परिमाणअनुसार कैद र जरिबानाको प्रावधान कडा छ । सानो परिमाणमा पनि कैद सजाय छ भने ठुलो परिमाणमा जन्मकैदसम्मको व्यवस्था छ । तर, नियन्त्रणका लागि सजाय मात्र पर्याप्त छैन । अपराध हुन नदिन आमसचेतना, पूर्वतयारी र रोकथामको खाँचो देखिन्छ ।
अहिलेको समस्या समाधान गर्न मुख्यतः विमानस्थल र सीमावर्ती क्षेत्रमा प्रविधियुक्त निगरानी संयन्त्रमा कडाइ गर्नु आवश्यक छ । अन्तर्राष्ट्रिय सूचनाको आदानप्रदान र सहकार्य बढाउनुपर्छ । त्यस्तै, संगठित गिरोहसम्म पुग्ने प्रहरीको अनुसन्धान क्षमतामा सुधार गर्नुपर्ने देखिन्छ । लागूऔषधविरुद्ध जनचेतना पनि उत्तिकै आवश्यक छ । युवालक्षित सचेतना अभियान चलाउने र भरियाका रूपमा प्रयोग हुने युवालाई रोक्न सके मात्र पनि लागूऔषध ओसारपसारको ट्रान्जिट रोक्न सकिन्छ । निरन्तरको निगरानी, प्रभावकारी प्रहरी अनुसन्धान र अन्तर्राष्ट्रिय सहकार्यबाट मात्रै यो चुनौती सामना गर्न सकिन्छ ।