
नयाँ सरकार गठनसँगै मित्रराष्ट्रबाट बधाई सन्देश आइरहेका छन् । तर, केही शुभकामना सन्देशले कूटनीतिक वृत्तमा तरंग उत्पन्न गरिदिएको छ । खासगरी तिब्बती निर्वासित सरकार र पाकिस्तानी पृथकतावादी समूह बलुचिस्तानका शुभकामना र आपसी सहकार्यको प्रस्तावले नेपालको परराष्ट्र सन्तुलनप्रति चिन्ता बढाएको छ । भलै, ती सन्देशप्रति सरकारले कुनै प्रतिक्रिया दिइसकेको छैन । नेपालले सधैं असंलग्नता, सन्तुलन र संवेदनशील कूटनीतिक अभ्यास गर्दै आएको छ । दुई ठूला छिमेकीबीच रहेकाले पनि कूटनीतिक सन्तुलनले हाम्रोलागि ठूलो अर्थ राख्दछ । यही कारण, कुनै पनि अभिव्यक्ति वा सम्पर्कले छिमेकी देशको चासो र संवेदनशीलतामा असर पार्न सक्छ भन्ने कुरालाई सरकारले गम्भीरतापूर्वक लिनुपर्छ । निर्वासित तिब्बती नेतृत्वबाट आएको सन्देशमा प्रयोग भएका केही शब्दावली चीनका संवेदनशील विषयसँग जोडिन्छन् । नेपालले निरन्तर एक चीन नीतिप्रति प्रतिबद्धता जनाउँदै आएको छ र आफ्नो भूमिलाई कुनै पनि छिमेकीविरुद्ध प्रयोग हुन नदिने स्पष्ट अडान राखेको छ । यही सन्तुलन नेपालको कूटनीतिक आधार हो । यसमा कमजोरी देखिने कुनै पनि संकेत दीर्घकालीन रूपमा जोखिमपूर्ण हुन सक्छ ।
अर्कोतर्फ, भारत र चीनबीच लिपुलेक क्षेत्रमा भएका सहमतिबारे नेपालको अस्पष्ट प्रतिक्रिया पनि ध्यान दिनुपर्ने विषय हो । कूटनीतिमा मौनताले पनि सन्देश दिन सक्छ । तर राष्ट्रिय हितका मुद्दामा स्पष्ट, संयमित र समयमै धारणा राख्नु आवश्यक हुन्छ । किनभने, सानो मुलुकका लागि कूटनीतिक सन्तुलन नै सबैभन्दा ठूलो शक्ति हो । आवेगमा गरिएका निर्णय वा बाह्य प्रभावमा आधारित गतिविधिले स्वाधीनता अप्ठेरोमा पर्न सक्छ । त्यसैले परराष्ट्र नीतिमा परिपक्वता, निरन्तरता र सजगता अनिवार्य हुन्छ ।
यस अवस्थामा ताजा जनादेशसहित सरकारमा पुगेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र प्रधानमन्त्री बालेन्द्र शाह बालेनबाट परिपक्व, जिम्मेवार र सन्तुलित कूटनीति अपेक्षित छ । मित्रता विस्तार गर्दा पनि राष्ट्रिय हित र कूटनीतिक मर्यादालाई पहिलो प्राथमिकता दिनु जरुरी छ । कुनै पनि गतिविधिले अनावश्यक विवाद निम्त्याउने अवस्था आउन नदिनु नै बुद्धिमानी हुनेछ । त्यसअर्थमा अहिलेको सरकारका लागि अरू तमाम आन्तरिक समस्या समाधानका मुद्दासँगै फराकिलो एवं सन्तुलित कूटनीतिक सम्बन्धको नयाँ आयाम थप्ने अवसर प्राप्त भएको छ । सँगै, थुप्रै अप्ठ्यारा र चुनौतीहरू पनि छन् । त्यसलाई मनन गर्दै उत्साहका बीच सन्तुलन गुम्न दिनु हुँदैन । अन्र्तराष्ट्रिय भूराजनीतिक परिस्थितिलाई समेत विश्लेषण गर्दै नेपालले सुदृढ कूटनीतिक सम्बन्ध अघि बढाउन सक्छ ।