
नेपालमा महिलाको ज्यान जाने मुख्य क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा छ । पाठेघरको क्यान्सर जति खतरनाक छ, त्यत्ति नै महत्वपूर्ण विषय यो रोग धेरै हदसम्म नियन्त्रण गर्न सकिन्छ । तर जानकारीको अभाव, लाज वा बेवास्ताका कारण धेरै महिलाले समयमै परीक्षण र उपचार गराउँदैनन् । परिणामस्वरूप सामान्य अवस्थामै नियन्त्रण गर्न सकिने रोग प्राणघातक बनिदिन्छ । चिकित्सकका अनुसार, ह्युमन प्यापिलोमा भाइरस (एचपिभी) संक्रमण पाठेघरको मुखमा हुने क्यान्सरको मुख्य कारण हो । असुरक्षित यौन सम्पर्क र संक्रमित व्यक्तिबाट यो भाइरस सर्ने चिकित्सक बताउँछन् । एकपटक संक्रमण भएपछि लक्षण तुरुन्त नदेखिन पनि सक्छ, त्यो नै रोग फैलिने मुख्य कारण भइदिन्छ । यसबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय एचपिभी खोप हो । सरकारले नियमित खोप कार्यक्रमअन्तर्गत किशोरीलाई यो खोप दिन थालेको छ, जुन प्रशंसनीय कदम हो । यो खोपले पाठेघरको क्यान्सर हुनबाट धेरै हदसम्म जोगाउँछ । त्यसैले लक्षित उमेर समूहका सबै किशोरीले खोप लगाउनु आवश्यक छ ।
क्यान्सरविरुद्धको खोप मात्र समाधान होइन । खोपसँगै नियमित स्वास्थ्य परीक्षण पनि उत्तिकै जरुरी छ । समयमै परीक्षण गर्दा रोग प्रारम्भिक अवस्थामै पत्ता लाग्ने सम्भावना अधिक हुन्छ । बेलैमा रोग पत्ता लागे स्वाभावित रूपमा उपचार पनि सजिलो हुन्छ । साथै, सुरक्षित व्यवहार अपनाउने, क्यान्सरसम्बन्धी सही जानकारी लिने र कुनै लक्षण देखिए तुरुन्त अस्पताल जानु नै बुद्धिमानी हुन्छ । सरकारले खोप अभियान सुरु गर्नु सकारात्मक भए पनि यसको सफलता भने यसको सहभागितामा निर्भर रहन्छ । अभिभावक, शिक्षक र अभिभावक सबैले आफ्ना किशोरीहरूलाई क्यान्सरविरुद्धको खोप लगाउन प्रोत्साहित गर्नुपर्छ । अभियानलाई सफल बनाउन सम्बद्ध सबैको महत्वपूर्ण भूमिका रहन्छ । सबैभन्दा पहिले लाज वा गलत धारणा त्यागेर स्वास्थ्यलाई प्राथमिकता दिन प्रेरित गर्नुपर्छ । पाठेघरको क्यान्सरबाट जोगिनु धेरै कठिन पनि छैन । सचेतना र सावधानी भने चाहिन्छ । स्वस्थ महिला भए मात्र परिवार र समाज सुरक्षित रहन्छन् । त्यसैले एचपिभी खोप लगाउन प्रेरित गरौं । नियमित स्वास्थ्य परीक्षण गराऔं र सुरक्षित रहौं । आज थोरै सतर्क भएर अपनाइने सावधानीका उपायले भोलि भोग्नुपर्ने ठुलो पीडाबाट जोगिन सकिन्छ । त्यसैले खोप लगाउन छुटेकाहरूलाई पनि अभियानमा समेट्नुपर्छ ।