२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

चुनावी विकृति रोक

Nada
२०८२ माघ १९ गते ०६:१०
Shares
चुनावी विकृति रोक

प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि थुप्रै नेताहरूले दल बदलेर उम्मेदवारी दिएका छन् । चुनाव लड्नकै लागि उनीहरूले विचार, आदर्श र सिद्धान्त छाडेका छन् । विचार–सिद्धान्त र आदर्शबिना राजनीति सत्ता र स्वार्थको खेल मात्र बनिदिन्छ । दल बदलको यो प्रवृत्तिले संसदीय राजनीतिलाई विकृत बनाउन मद्दत गरिरहेको छ । चुनाव लड्नकै लागि पार्टी फेर्ने प्रवृत्तिबाट स्वच्छ, जिम्मेवार र निष्ठावान् राजनीतिको अपेक्षा गर्न सकिँदैन । यो संसदीय राजनीतिको गम्भीर विकृति हो । वर्षौं एउटै दलमा रहेर संगठन निर्माण, आन्दोलन र चुनावी संघर्ष गरेका नेताहरू टिकट नपाएको झोंकमा अन्तिम समयमा अर्को दल प्रवेश गर्नु सामान्य घटना होइन । फागुन २१ को निर्वाचनमा तीन दर्जनभन्दा धेरै निर्वाचन क्षेत्रमा यस्ता उम्मेदवार देखिएका छन् । नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, मधेसकेन्द्रित दलदेखि गत निर्वाचनबाट उदाएका नयाँ दलमा पनि त्यो समस्या विकराल देखिएको छ । यसले दलहरूभित्र नीति, सिद्धान्त र विचारभन्दा लोकप्रियवाद, चुनावी अंकगणित र जितको सम्भावनालाई मात्र महत्व दिने प्रवृत्ति मौलाउँदै गएको देखिन्छ । 

ncell

दल बदलको यस अभ्यासले निष्ठाको राजनीतिलाई कमजोर बनाउँदै लगेको छ । एउटै व्यक्ति फरकफरक चुनावमा फरक दलको झन्डा बोकेर उम्मेदवार बन्दा राजनीति अमुक पेसा वा ठेक्कापट्टाजस्तो बन्न पुगेको छ । यसले मतदातामा निराशा बढाएको छ । मतदाता एउटै अनुहारप्रति आजित छन् भने पुराना दल र नेताप्रति आमधारणा त्यति सकारात्मक छैन । संसदीय राजनीतिमा देखिएको अहिलेको विकृतिले राजनीतिलाई फोहोर खेल भन्ने र अविश्वासको नजरले हेर्नेहरूलाई नै बल पु¥याएको छ । यसको गम्भीर असर विभिन्न दलमा रहेका इमानदार कार्यकर्तामाथि परेको छ । वर्षौं पार्टीमा खटिएका, संगठन निर्माणमा हिँडेका कार्यकर्ता अवसरबाट निरन्तर वञ्चित भइरहेका छन् । रातारात पार्टी फेरेर आएका नेताहरूलाई टिकट दिँदा दलभित्रै असन्तुष्टि र गुटबन्दी बढेको छ । यसले दलहरूमा पारदर्शिता र आन्तरिक लोकतन्त्रलाई समेत कमजोर बनाएको छ ।

संसदीय लोकतन्त्र बलियो हुन नीति, विधि र विचारमा आधारित राजनीतिले महत्व पाउनुपर्छ । जनताले पनि त्यस्तो दल वा उम्मेदवारलाई आफ्नो मत दिनुपर्छ । दल बदललाई सामान्य चुनावी रणनीतिका रूपमा मान्ने हो भने त्यसले संसदलाई विचारविहीन थलो बनाउनेछ । आमनागरिकका असन्तुष्टि, गुनासो र निराशाबारे राजनीतिक दलहरूले गम्भीर आत्मसमीक्षा गरेर टिकटकै लागि दल बदल्ने प्रवृत्तिलाई निरुत्साहित गर्नैपर्छ । मतदाताले पनि निष्ठा र सिद्धान्त त्याग्ने नेताहरूलाई प्रश्न गर्ने साहस देखाउनुपर्छ । राजनीतिमा मौलाउन थालेका विकृतिलाई समयमै अन्त्य गरेर मात्र स्वच्छ, जिम्मेवार र जनमुखी राजनीति सम्भव छ ।

uae

सम्बन्धित खबर