
भारतको पश्चिम बंगालमा पुनः देखिएको निपाह भाइरसले दक्षिण एसियाली क्षेत्रमै गम्भीर स्वास्थ्य जोखिमको संकेत गरेको छ । ४० देखि ७५ प्रतिशतसम्म मृत्युदर रहेको, खोप वा प्रभावकारी औषधि नबनिसकेको यो भाइरस विश्वका सबैभन्दा घातक संक्रमणमध्ये एक मानिन्छ । विगतमा मलेसिया, केरला र पश्चिम बंगालमै देखिएको प्रकोपले सयौं मानिसको ज्यान लिइसकेको छ । यसपटकको पुनरावृत्तिलाई सामान्य रूपमा लिएर आवश्यक सावधानी नअपनाउनु नेपालजस्ता छिमेकी मुलुकका लागि ठुलो भूल हुनेछ । निपाह भाइरसको संक्रमण सुरुमा ज्वरो आउने, टाउको दुख्ने, जिउ दुख्ने, खोकी र वान्ताजस्ता सामान्य लक्षण देखिन्छ । तर त्यो अवस्था छिट्टै जटिल बन्छ । संक्रमण बढ्दै जाँदा मस्तिष्क सुन्निने र श्वासप्रश्वासमा समस्या आई बिरामी छिट्टै कोमामा जाने र मृत्युसमेत हुन सक्छ । कतिपय अवस्थामा संक्रमित व्यक्ति ४८ घण्टाभित्रै कोमामा पुग्ने गरेको विगतका तथ्यले देखाएको छ । चमेरा, सुँगुर र संक्रमित मानिसको नजिकको सम्पर्कबाट मानिसमा सर्ने भएकाले यो भाइरस समुदायस्तरमै फैलिन सक्ने जोखिम रहन्छ ।
भारतसँग खुला सीमा रहेको नेपालजस्ता मुलुकका लागि यो स्थिति अझै संवेदनशील छ । नेपालमा हालसम्म निपाह भाइरस पुष्टि नभए पनि मानिसको भारतसँगको आवतजावत, व्यापार र श्रम आप्रवासनका कारण जोखिम उच्च छ । सरकारले १३ वटै सीमानाकामा सुरक्षा व्यवस्था कडा बनाएको छ । स्वास्थ्यकर्मी परिचालन गर्नुका साथै काठमाडौं तथा भैरहवाका अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रिनिङ सुरु गरेको छ । तर सीमा निगरानी मात्र पर्याप्त हुँदैन । नेपालजस्ता छिमेकी मुलुकले समुदायस्तरमा निगरानी प्रणाली व्यवस्थित गर्न जरुरी छ । स्वास्थ्य संस्थालाई तयारी अवस्थामा राख्न र शंकास्पद लक्षण देखिए तत्काल परीक्षण र आइसोलेसनको व्यवस्था गर्नुपर्छ । साथै, आमनागरिकले काँचो खजुरको रस नपिउने, चमेरोले टोकेका वा झरेका फलफूल नखाने, हात धुने, मास्क लगाउने र भीडभाडमा सतर्कता अपनाउने बानी बसाल्न जरुरी छ । निपाह भाइरसको खतरा कुनै देशको सीमाभित्र सीमित रहँदैन । त्यसैले तत्कालै अनावश्यक डर फैलाउनेभन्दा पनि समयमै सचेत, जिम्मेवार र सावधानीका उपयुक्त कदम चाल्नु नै नेपालजस्ता छिमेकी मुलुकका लागि सबैभन्दा प्रभावकारी उपाय हो । आजको सतर्कताले भोलिको ठुलो क्षति रोक्न सक्छ ।