
आगामी २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि उम्मेदवार र राजनीतिक दलहरूले मत माग्ने अभियान तीव्र बनाइसके । बस्तीबस्तीमा नेताहरूले भाषण दिन थालिसके । सामाजिक सञ्जालमा प्रचार तीव्र भइसक्यो । चुनावी माहोल बन्नु एकदमै सकारात्मक पक्ष हो । तर यहाँनेर एउटा प्रश्न छ– राजनीतिक दलहरू केका आधारमा मत माग्दै छन् ? यो प्रश्न यसकारण पेचिलो कि– राजनीतिक दल र उम्मेदवारहरूको चुनावी घोषणापत्र सार्वजनिक गरेका छैनन् । बिनायोजना मतदाताकहाँ पुगिरहेका छन् । उदाहरणका लागि भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत भएपछि बालेन्द्र शाह (बालेन)ले सात जिल्लाको भ्रमण गरिसके । भ्रमणका क्रममा उनले मतदातासँग के कस्ता वाचा गरे त्यो उनको मौखिक प्रतिबद्धता हो । बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा प्रस्तुत गर्ने रास्वपाको नीति के हो ? यसको जवाफ चुनावी घोषणापत्रमा आएको छैन । परिणाममा बालेन खाली हात जोडेर मतदाताकहाँ पुगिरहेका छन् । रास्वपा मात्रै होइन, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टीलगायतले पनि चुनावी घोषणापत्र ल्याएका छैनन् ।
चुनावी घोषणापत्र ऐच्छिक हो वा होइन ? किनभने मतदाताले त उम्मेदवारको अनुहार हेरेर भोट दिने होइन । आगामी पाँच वर्षमा के गर्ने, कसरी गर्ने र किन गर्ने भन्ने स्पष्ट प्रतिबद्धता हेरेर निर्णय लिने हो । यसकारण चुनावी घोषणापत्रलाई दल र उम्मेदवारले मतदातासँग गर्ने औपचारिक सम्झौताका रूपमा समेत लिइन्छ । अन्यथा, घोषणापत्रबिना मत माग्नु दिशाबिनाको यात्राजस्तै हो । यस्तै, दिशाबिना यात्रामा नयाँ र पुराना सबै दल अगाडि बढेको आभास हुन्छ । यस्तो अभासले दलहरूको चुनावी संस्कारमा प्रश्न उठाउँछ । उम्मेदवारहरू स्पष्ट नीति, योजना र दृष्टिकोणबिनै भावनात्मक नारामा निर्भर भए राजनीति अवसरवादमा रूपान्तरण हुने खतरा रहन्छ । यसकारण मतदाताले व्यक्तिको अनुहार, भाषण शैली वा क्षणिक आकर्षणका आधारमा होइन, ठोस योजना र नीतिका आधारमा निर्णय गर्न पाउनुपर्छ ।
दलहरूको चुनावी घोषणापत्र आयो वा आएन र आएको छ भने के कस्ता विषय समेटिएका छन् भनेर नागरिकहरू स्वयं पनि सचेत हुनुपर्नेछ । किनकि भोट हाल्नु भनेको आगामी पाँच वर्षका लागि आफूमाथि शासन गर्ने व्यक्ति रोज्नु हो । यसकारण मतदाताले नेता र उम्मेदवारसँग प्रश्न गर्नुपर्छ– खोइ घोषणापत्र ? दलीय नीति के हो ? रोजगारी, शिक्षा, स्वास्थ्य, सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने योजना के छन् ? दलहरूले पनि केवल ल्याउनका लागि प्रतिवद्धतापत्र ल्याउने होइन, कार्यान्वयन गर्ने स्पष्ट खाकासहित कार्यान्वयनपत्र ल्याऊ ।