२०८३ कार्तिक २ गते आइतवार / Oct 18 , 2026 , Sunday
२०८३ कार्तिक २ गते आइतवार

चुनावले जगाएको भरोसा

Nada
२०८२ माघ ७ गते ०६:१०
Shares
चुनावले जगाएको भरोसा

२१ फागुनमा हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मंगलबार मनोनयन दर्तासँगै देशभर राजनीतिक चहलपहल बढेको छ । लामो समयदेखि चुनाव होला कि नहोला भन्ने अन्योलबीच उम्मेदवारी दर्ताको रौनकले नयाँ आशा, उत्साह र विश्वासको सञ्चार गरेको छ । सडक, चोक, सामाजिक सञ्जाल र आमजनजीवनमा देखिएको राजनीतिक सरगर्मी बढेको छ । यसले मुलुक चुनावी प्रक्रियामार्फत सामान्य अवस्थामा फर्किंदै छ भन्ने सन्देश पनि दिएको छ । जेनजी आन्दोलनपछि मुलुक राजनीतिक र संवैधानिक संकटमा पर्‍यो । त्यतिबेला संविधानको ट्र्याकबाहिर खोजिएको निकास आमचुनावसम्मका लागि मात्र हो । त्यसैले संविधानलाई ट्र्याकमा फर्काउन पनि तोकिएकै मितिमा चुनाव गर्नु अनिवार्य थियो । सरकार, निर्वाचन आयोग र दलहरूको पहलले मुलुक त्यो दिशामा अघि बढेको देखिन्छ । 

ncell

पक्कै पनि चुनाव लोकतन्त्रको ठुलो उत्सव हो । यो नागरिकले आफ्नो मतमार्फत राज्यसत्तालाई दिशा दिने सबैभन्दा सभ्य र शक्तिशाली प्रक्रिया पनि हो । केही समयदेखि मुलुकमा राजनीतिक अस्थिरता, राज्य–शक्ति र नागरिकबीचको अविश्वास, तथा विभिन्न आशंका रहँदै आएका छन् । तिनै कारण चुनावप्रति पनि शंका र अनिश्चितता फैलिएको थियो । तर मनोनयन प्रक्रियाले त्यो अन्योल धेरै हदसम्म चिरेको छ । चुनाव लोकतन्त्रको औपचारिक अभ्यास मात्र होइन, संकटबाट निकास खोज्ने सबैभन्दा सभ्य र विश्वसनीय माध्यम पनि भएकाले यसले नयाँ आशाको सञ्चार गराएको छ । 

अबको चुनौती चुनाव गराउनु मात्र होइन, त्यसलाई शान्तिपूर्ण, निष्पक्ष र भयरहित बनाउनु हो ।  राज्यका सबै संयन्त्र, सुरक्षा निकाय, निर्वाचन आयोग र राजनीतिक दलको ध्यान यसैमा केन्द्रित हुनुपर्छ । विगतका कमजोरी दोहोरिन नदिने, सत्ता र शक्तिको दुरुपयोग रोक्ने, मतदातालाई डर वा प्रलोभनबाट मुक्त राख्ने वातावरण बनाउनु आजको अपरिहार्य आवश्यकता हो । चुनाव जित्ने, हार्ने प्रतिस्पर्धा भए पनि लोकतन्त्र हार्ने अवस्था आउन दिनुहुँदैन । यसमा राजनीतिक दलमाथि अझ ठुलो जिम्मेवारी छ । नेताहरूले उत्तेजक भाषा, आरोप–प्रत्यारोप र घृणा त्यागेर स्वस्थ प्रतिस्पर्धाको अभ्यास गर्नुपर्छ । जनताको मतलाई सम्मान गर्ने, असहमतिलाई लोकतान्त्रिक ढंगले स्वीकार गर्ने र परिणामलाई शान्तिपूर्ण रूपमा अंगीकार गर्ने संस्कार नै लोकतन्त्रको सौन्दर्य हो । चुनाव जनतालाई डर देखाउने होइन, भरोसा जगाउने प्रक्रिया बन्नुपर्छ । 

मनोनयनको रौनकले देखाएको उत्साहलाई विश्वासमा रूपान्तरण गर्न अब सबै पक्ष इमानदार बन्नुपर्छ । २१ फागुनको आमचुनाव केवल नयाँ प्रतिनिधि छान्ने प्रक्रिया मात्र नभई, देशले संकटपछि रोजेको लोकतान्त्रिक बाटोको परीक्षा पनि हो । शान्तिपूर्ण, निष्पक्ष र भयरहित चुनाव सम्पन्न हुनु नै स्थायित्व, विश्वास र भविष्यतर्फको सबैभन्दा बलियो कदम हुनेछ ।

uae

सम्बन्धित खबर