
जीवनमा सबैभन्दा ठुलो बाधा शरीर होइन, मन हो भन्ने सन्देश हरि बुढामगरले विश्वका सातै महादेशका सर्वोच्च शिखर चुमेर प्रमाणित गरेका छन् । दुवै खुट्टा गुमाइसकेका एक व्यक्तिले संसारका अग्ला हिमालहरू चढ्नु असम्भव ठान्नेहरूका लागि उनको यात्राले जवाफ दिएको छ– जीवनमा हरेक कुरा सम्भव छ । तर सपनासँगै अठोट पनि बलियो हुनुपर्छ । बेलायती सेनामा हुँदा अफगानिस्तानको युद्धमा विस्फोट परेर बुढामगर दुवै खुट्टा गुमाएका थिए । धेरैका लागि त्यही क्षण जीवनको अन्त्यजस्तै हुन सक्थ्यो । तर बुढामगरका लागि त्यो अन्त्य होइन, नयाँ संघर्षको सुरुवात बन्यो । शारीरिक अपांगतालाई उनका लागि कहिल्यै कमजोरी बनेन, बरु साहस र संकल्पको स्रोत बन्यो । खुट्टा नभए पनि उनी हिँडे, दौडे र अन्ततः संसारका अग्ला शिखरहरू चुमे ।
‘सेभेन समिट’ यात्रा आफैंमा व्यक्तिगत उपलब्धि मात्र होइन । यसले अपांगता भएका व्यक्तिहरूका लागि आत्मविश्वासको उज्यालो देखाएको छ । अपांगता कमजोरी होइन, फरक क्षमता मात्र हो भन्ने सन्देश उनले दिएका छन् । अहिले पनि हाम्रो समाजमा अपांगता भएका व्यक्तिहरु अपहेलना र विभेदमा परेका छन् । उनीहरु निराशामा बाँचेका छन् । आफ्नै सपना बिर्सेर बसेका विश्वभरका भिन्न क्षमताका व्यक्तिका लागि रोल्पा लिवाङका बुढामगर प्रेरणा बनेका छन् । जीवनका चुनौतीहरू देखेर सपना सानो बनाउने, परिस्थितिलाई दोष दिने र हार मान्ने प्रवृत्ति हामीमा बढ्दै गएको छ । त्यसले समाजमा निराशा उत्पन्न गराएको छ । आफूले चाहेजस्तो नहुनासाथ युवाहरु निराशमा डुब्छन् । तर हरि बुढामगरको यात्रा भन्छ—सपना जीवित राख्न साहस चाहिन्छ । र त्यो साहस कुनै शारीरिक अवस्थामा होइन, मनभित्र जन्मिन्छ ।
करिब ६ वर्ष लगाएर, कठोर प्रशिक्षण र अपार संघर्षपछि बुढामगरले यो उपलब्धि हासिल गरेका हुन् । पैसा, नाम वा व्यक्तिगत यशका लागि नभई अपांगता सचेतनाका लागि हिमाल चढ्ने संकल्प आफैंमा प्रेरणाको स्रोत बनेको छ । समाज, राज्य र संस्थाहरूले अपांगताप्रति राख्दै आएको संकुचित दृष्टिकोण परिवर्तन नगरी समावेशी विकास सम्भव छैन भन्ने सन्देश पनि उनको यात्राले दिएको छ । यो सफलताले भन्छ– हामीसँग सपना छ भने, समर्पण छ भने र हार नमान्ने अठोट छ भने, जीवनका कुनै पनि पहाड अग्ला हुँदैनन् ।