
नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वलाई निर्वाचन आयोगले दिएको वैधानिकताले कांग्रेसमा नेतृत्व पुस्तान्तरण भएको छ । यससँगै विद्यार्थी आन्दोलनबाट उदाएका नेता गगनकुमार थापाको राजनीतिमा नयाँ अध्याय आरम्भ भएको छ । विगतमा नेतृत्वविरुद्ध प्रश्न उठाउने छवि बनाएका उनी अब जवाफ दिनुपर्ने ठाउँमा पुगेका छन् । हिजो पार्टीमा आफ्ना असहमति र फरक मत दर्ज गर्दै आएका थापाले अब त्यस्ता विमतिलाई सहमतिमा ल्याउनुपर्ने छ । विशेष महाधिवेशनमा सहभागी नभएको तत्कालीन संस्थापन पक्षलाई मिलाएर कांग्रेसलाई एकढिक्का राम्रो सभापति थापाको मुख्य चुनौती बनेको छ ।
कांग्रेसमा विशेष महाधिवेशन र त्यसबाट निर्वाचित नेतृत्वको वैधानिकतामाथि विवाद चुलिएको छ । शेरबहादुर देउवा नेतृत्वको तत्कालीन केन्द्रीय समितिका बहुमत नेताहरू निर्वाचन आयोगले षड्यन्त्र गरेर आधिकारिकता खोसेको आरोप लगाइरहेका छन् । पार्टी मुख्यालय सानेपामा शनिबार बसेको बैठकले न्यायका लागि अदालत जाने निर्णय गरिसकेको छ । यस्तोमा देउवासहित शीर्ष नेताहरू, पूर्वपदाधिकारी र देशैभरका सो समूहका नेता कार्यकर्तालाई आश्वस्त पार्नु नवनिर्वाचित नेतृत्वको मुख्य कर्तव्य हुन आउँछ । गगन–विश्वको पहिलो नेतृत्व परीक्षण यसैमा हुनेछ । त्यसो त कांग्रेस हिजो पनि भावनात्मक रूपमा एकढिक्का थिएन । देउवा, गगन–विश्व, डा. शेखर कोइराला, कृष्ण सिटौलाका आ–आफ्नै गुट थिए । तर उनीहरू एउटै पार्टीमा थिए । २१ फागुनको प्रतिनिधि सभा निर्वाचन आउन एकसाता पनि बाँकी नरहेको अवस्थामा वैधानिकता विवाद अदालत वा सडक संघर्षमा धाइरहनुभन्दा चुनावी तयारीमा जुट्नु कांग्रेसको हितमा देखिन्छ । सभापति थापाले त्यसैका लागि आफ्नो सम्पूर्ण शक्ति खर्चिनुपर्छ । उनले आउँदो वैशाखमा नियमित महाधिवेशन गर्ने प्रतिबद्धता जनाइसकेको स्थितिमा हिजो जसरी देउवाले तीन महिना पर्खिन आग्रह गरेका थिए, उनैगरी आफंैले पर्खिन तयार हुनुपर्छ ।
यदी विवाद अदालतमा पुग्यो भने पनि ६ माघमा प्रत्यक्षतर्फको उम्मेदवारी दर्ताको समय हो भन्ने न्यायालयले बिर्सिनुहुँदैन । छिटोभन्दा छिटो विवादको निरुपण गर्दै असन्तुष्ट पक्षले नयाँ दल गठन गर्न चाहेमा समय दिनु न्यायोचित हुनेछ । तर त्योभन्दा पहिले पार्टी एकतालाई जोगाउनेमै कांग्रेसका सबै पुस्ताका नेताको जोड हुनुपर्छ । ५० वर्षअघि जननेता बिपी कोइराला निर्वासनबाट राष्ट्रिय मेलमिलापको नारा लिएर स्वदेश फर्किएका थिए । अहिले कांग्रेसमा त्यही मेलमिलापको भावनाको खाँचो छ । पुरानो दलको नेतृत्व नयाँ पुस्तामा आइपुगेकामा युवा पुस्ता उत्साहित भएका बेला कुन्ठाको राजनीतिबाट मुक्त हुनु श्रेयकर हुनेछ । त्यसै पनि देउवा नेतृत्वको कार्यसमितिले आफ्नो कार्यकाल पूरा गरिसकेको छ । विधि–विधानमा रहेको विवाद आमचुनावपछि सल्ट्याउनेगरी कांग्रेस मिल्नुमै हित देखिन्छ ।