
पुरानो लोकतान्त्रिक दल नेपाली कांग्रेसले पुनः एकपटक विभाजित हुन पुगेको छ । जेनजी आन्दोलनपछि घाइते बनेको संविधान र लोकतान्त्रिक व्यवस्था धर्मराएका बेला आठ दशक लामो इतिहास बोकेको दलले धक्का बेहोरेको छ । असन्तुष्ट पक्ष विशेष महाधिवेशन गरेर नयाँ नेतृत्व चयनतर्फ उन्मुख भएपछि संस्थापन पक्षले कार्यसम्पादन समितिको बैठक बसेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहितका नेतालाई कारबाहीको निर्णय गरेको थियो । त्यससँगै कांग्रेस फुटले औपचारिक बाटो लिएको हो । विघटित प्रतिनिधि सभाको सबैभन्दा ठुलो दल कांग्रेसको विभाजन त्यस्तो बेला भएको छ, जतिबेला मुलुकलाई संवैधानिक बाटोमा फर्काउन २१ फागुनमा चुनाव हुँदै छ । सरकार, दलहरू र जेनजी समूहहरू चुनावका लागि तयार छन् । देशभर राजनीतिक सरगर्मी बढ्नुका साथै निर्वाचनको माहोल बन्दै छ । निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसूची पेस भइसकेको छ भने प्रत्यक्ष निर्वाचनतर्फ उम्मेदवारी दर्ता हुनु एक साताअघि मुख्य राजनीतिक दल कांग्रेस विभाजन हुन पुगेको छ । यसले चुनावप्रति नै अन्योल सिर्जना गरिदिएको छ । कांग्रेस सहज वैधानिक ढंगले विभाजन भएको होइन । त्यसैले वैधानिकताको विवाद टुंगिन केही समय लाग्न सक्छ । कांग्रेसको राजनीतिक विवाद अब कानुनी विषय बन्न पुगेको छ ।
नियमित महाधिवेशन टार्दै र सार्दै अघि बढेको पार्टी संस्थापन पक्षलाई चुनौती दिँदै महामन्त्रीद्वय गगन–विश्व समूहले विशेष महाधिवेशन आयोजना गरेपछि कांग्रेसको संकट गहिरिएको थियो । विशेषलाई मान्यता दिने वा नदिनेमा त दुई पक्षबीच मतभेद थियो नै अहिलेकै नेतृत्व लिएर चुनावमा जाने वा नयाँ नेतृत्व चयन गर्ने भन्नेमा पनि कुरा मिलेन । विभाजन रोक्न भएका पटकपटकका वार्ता र छलफलसमेत असफल हुन पुगे । कार्यवाहक दिइसकेका सभापति शेरबहादुर देउवालाई विश्राम दिने र नेता गगन थापालाई भावी प्रधानमन्त्री तोकेर जाने असन्तुष्ट पक्षको प्रस्ताव संस्थापनले अस्वीकार गरेसँगै कांग्रेसले विभाजनको बाटो लिएको हो । सतहमा जेजस्ता कारण देखिए पनि कांग्रेस विभाजनको मुख्य कारण लोकतान्त्रिक अभ्यासको असफलता हो । एउटा जीवन्त दलमा विचार, पुस्ता र कार्यशैलीका मतभेद स्वाभाविक हुन् । तर ती मतभेदको निकास गहन छलफलबाट निकालिनुपर्छ । वैधानिक विधिबाट समस्याको समाधान खोजिनुपर्छ । तर सबैभन्दा पुरानो लोकतान्त्रिक दल पार्टी महाधिवेशनसम्बन्धी विवादले विभाजनमा पुग्नु लज्जाको विषय हो । अन्तरसंघर्ष र मतभेदको वैधानिक समाधान गर्न नसक्नु नेतृत्वको पूर्ण असफलता हो । पार्टीभित्र व्यापक असन्तुष्टि र रूपान्तरणको माग उठिरहँदा त्यसलाई सम्बोधन गर्नुको सट्टा नेतृत्वले संयम गुमाएर कारबाहीको डण्डा चलाइनु गलत अभ्यास हो । लोकतन्त्र नीति र विचार मात्र होइन, असल अभ्यास र संस्कृति पनि हो । दुवै पक्षले अहंकार त्यागेर वैधानिक विधि, संवाद र सहमतिबाट समाधान खोजिएको भए अहिलेको फुट बेहोर्नुपर्ने थिएन । त्यसको कांग्रेसका दुवै पक्ष चुकेका छन् । यसबाट अन्य राजनीतिक दलले पनि शिक्षा लिनुपर्छ ।