
काठमाडौंः यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायको ‘समावेशी समाजवादी पार्टी’ निर्वाचन आयोगमा दर्ता भएको छ । नुमा लिम्बूको अध्यक्षतामा दर्ता भएको उक्त पार्टीले मंगलवार दल दर्ता प्रमाण पत्र पाएको छ ।
दल दर्ता प्रमाणपत्र बुझ्नुअघि सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टी प्रवक्ता विश्वराज अधिकारीले राज्यका हरेक निकायमा लैङ्गिक अल्पसंख्यक समुदायको प्रतिनिधित्व गराउने उद्देश्यले दल दर्ता गरिएको बताए । उनले पुराना राजनीतिक दलहरुले यो समुदायलाई लामो समयदेखि भोट बैंकको रुपमा प्रयोग गरेपछि यो समुदायको हक र अधिकार स्थापित गर्न नसकेको आरोप लगाए ।
उनले भने, ‘हाम्रो समुदायलाई भोट बैंकको रुपमा लामो समयदेखि राजनीतिक दलहरुले प्रयोग गर्दै आए । तर पनि हामीले समाजमा आधारभुत अधिकार समेत पाउन सकिरहेको अवस्था छैन । अब हाम्रो माग र मुद्दाहरु आफैं उठाउने भनेर दलहरु दर्ता गराएका हौँ । कानुनले पूर्णअधिकार दिएको भएपनि कार्यान्वयन नभएको कारण समूदाय र राज्यको हरेक तह र तप्कामा समान खालको प्रतिनिधित्व हुनुपर्छ भनेर दल दर्ता गराएका हौं ।’
यौनिक तथा लैङ्गिक अल्पसंख्यक समुदायलाई संविधानले दिएका सबै अधिकारहरुको कार्यान्वयन दलको पहिलो प्राथमिकता रहने उनको भनाइ छ ।