
काठमाडौं : दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिल)अन्तर्गत आजको खेलमा काठमाडौं गोर्खाजले लुम्बिनी लायन्सलाई १५८ रनको लक्ष्य दिएको छ ।
त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रंगशाला, कीर्तिपुरमा टस हारेर पहिला ब्याटिङ गरेको काठमाडौंले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा १५७ बनायो । यसमा कप्तान करण केसीले अविजित ३४, आकाश त्रिपाठीले ३२ र सन्तोष यादवले २६ रनको योगदान गरे ।
लुम्बिनीका कप्तान रोहित पौडेल, खेलाडी शेर मल्ल, गुल्बादिन नायब, रूबेन ट्रम्पलम्यानले दुई/दुई विकेट लिए । काठमाडौंले तीन खेल खेलेको छ, जसमा दुई हार र एकमा जित निकालेको थियो ।
काठमाडौं दुई अंकसहित तेस्रो स्थानमा छ । लुम्बिनी पनि तीन खेलमध्ये एक जित निकाल्दै दुई अंकसहित चौँथो नम्बरमा छ । दुवै टोलीलाई प्लेअफ पुग्ने सम्भावना जीवित राख्न आजको खेल महत्त्वपूर्ण मानिएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा मंसिर १ गतेदेखि सुरु भएको प्रतियोगितामा आठ टोली सहभागी छन् ।