
जेरुसेलम : इजरायली कब्जा बल (आइओएफ)ले मंगलबार वेस्ट ब्यांकमा व्यापक गिरफ्तारी र छापा अभियान अन्तरगत कम्तिमा ५० जना प्यालेस्टिनीहरूलाई पक्राउ गरेको छ ।
प्यालेस्टिनी समाचार एजेन्सी (डब्लुएएफए)ले रिपोर्ट गरे अनुसार कल्किल्याको पूर्वमा रहेको अजुन सहरमा इजरायली सेनाले २५ जना प्यालेस्टिनीहरूलाई पक्राउ गरी कुटपिट गरेको छ । यसै गरी अरिहा सहर र जबर र ऐन अल–सुल्तान शरणार्थी शिविर बाट १० जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।
सेनाले बेथलेहेमको गवर्नरेटमा, छ जना प्यालेस्टिनी, जेनिनको दक्षिणमा रहेको मिर्का गाउँमा अन्य छ जना र रामल्ला दक्षिणी नब्लस, जेनिन शिविरमा अन्य तीन जना प्यालेस्टिनीलाई पक्राउ गरेको जनाइएको छ ।
सोही सन्दर्भमा, सेनाले अल–खलिलको उत्तरमा रहेको बेत उमर सहरका विद्यालय र घरहरूमा आक्रमण गरी दर्जनौं प्यालेस्टिनीहरूलाई चिसो र वर्षाको मौसममा दुर्व्यवहार गर्दै घन्टौसम्म बन्दी बनाएको जनाइएको छ ।
इजराली सेनाले वेस्ट बैंकमा प्यालेस्टिनीहरूलाई आतंकित पारी उनीहरूको आवागमनलाई प्रतिबन्धित गर्ने कार्यकर्ताहरूलाई सताउने र कैदीहरूलाई मुक्त गर्नको लागि गिरफ्तारी गरिरहेको जनाइएको छ । –रासस/क्यूएनए