
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपिएल)मा विराटनगर किंग्सले लगातार तेस्रो जित निकालेको छ । सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले पराजित गर्दै विराटनगरले लगातार तेस्रो जित निकालेको हो ।
विराटनगरले दिएको १३६ रनको लक्ष्य पछ्याएको जनकपुरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२६ रन मात्र बनाउन सक्यो । जनकपुरका लागि निकोल लोफ्टी इटनले सर्वाधिक ४१ रन बनाए । त्यस्तै, लाहिरु मिलन्थाले २३, सञ्जय कृष्णमूतीले २० र आसिफ शेखले १३ रन बनाए । अन्य खेलाडीले दोहोरो अंक पनि जोड्न सकेनन् ।
विराटनगरका लागि सन्दीप लामिछानेले चार, सूर्य तामाङले दुई, शुभम रञ्जाने र मर्चेन्ट डि लांगेले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १३५ रन बनाएको थियो ।
विराटनगरका लागि शुभम रन्जनेले सर्वाधिक ३७ रन बनाए । २९ बल खेलेका उनले २ चौका र २ छक्का प्रहार गरे । यस्तै लोकेश बमले २८ रन, जर्ज मन्सेले १० रन र मार्टिन गप्टिलले १३ रन बनाए । नारायण जोशी दुई रन बनाएर आउट भए भने प्रतिश जिसी २ रनमा नटआउट रहे ।
जनकपुरका लागि संगिथ कुरे र रूपेश सिंहले समान दुई-दुई विकेट लिए भने आदित्य महताले एक विकेट लिए ।