२०८२ मंसिर ८ गते सोमवार / Nov 24 , 2025 , Monday
२०८२ मंसिर ८ गते सोमवार
Ads

रुकुमपूर्व हुँदै दाङ, सल्यान–डोल्पा जाने मुख्य मार्ग सुचारु

shivam cement
बालाराम शेर्पाली
२०८२ मंसिर ८ गते २२:१५
Shares
रुकुमपूर्व हुँदै दाङ, सल्यान–डोल्पा जाने मुख्य मार्ग सुचारु

रुकुमपूर्व : मध्यपहाडी लोकमार्गको मुख्य भाग मानिने रुकुमपूर्व–रुकुमपश्चिमलाई जोड्ने रानीकोट–किटिनी सडकखण्ड करिब एक महिनापछि सोमबारबाट पूर्ण रूपमा सञ्चालनमा आएको छ । यो खण्ड कात्तिक १२ गतेदेखि मर्मतका लागि बन्द गरिएको थियो । रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी दिनेशप्रसाद थानीका अनुसार मुसिकोट नगरपालिका–८ किटिनी र रुकुमपूर्वको सिस्ने गाउँपालिका–६ रानीकोटका दुई जोखिमयुक्त स्थानमा ढलान कार्य सम्पन्न भएपछि सडक सुचारु गरिएको हो । किटिनीमा २ सय ६० मिटर ढलान गरिएको छ । ‘थप कटिङ गर्न सम्भव नभएपछि विकल्पस्वरूप ढलान विधि अपनाइएको हो,’ थानीले भने । 

किटिनीको भीरालो र जोखिमपूर्ण सडक वर्षौँदेखि समस्या मानिँदै आएको थियो । यसैगरी स्थानीयले ‘अति जोखिमयुक्त मोड’ भनेर चिन्ने रानीकोट खण्डमा पनि ढलान पूरा गरिएको छ । रुकुमपूर्वकी प्रमुख जिल्ला अधिकारी सीता परियारका अनुसार ढलानपछि सडक सुरक्षित र स्थिर बनेको छ । ‘अधिकांश भाग कालोपत्रे भइसकेको छ, बाँकी भाग पनि चरणबद्ध रूपमा कालोपत्रे हुँदैछ । अब यात्रु तथा मालसामान ढुवानी दुवै सहज हुनेछन्,’ परियारले भनिन् । 

दुई जिल्लाबीचको सर्वपक्षीय बैठकको निर्णयअनुसार सडक कात्तिक १२–३० सम्म बन्द गरिएको थियो । तर मर्मत बाँकी रहेपछि मंसिर ७ सम्म बन्द अवधि थपिएको थियो । बन्द अवधिमा साना सवारी खलंगा–छिङ–धाउन्ने रुटमा सञ्चालन गरिएका थिए । ठूला सवारी खलंगा–छिनखेत–पिपल–पोखरा हुँदै रुकुमकोट झर्दै आएका थिए । रानीकोट–किटिनी सडकखण्ड रहेको मध्यपहाडी लोकमार्ग रुकुमपूर्व, रुकुमपश्चिम, दाङ, सल्यान, जाजरकोट, नेपालगञ्ज हुँदै डोल्पासम्म जोडिने महत्वपूर्ण करिडोरका रूपमा चिनिन्छ ।

ADV

ताजा खबर

सम्बन्धित खबर