
काठमाडौं : वरिष्ठ सञ्चारकर्मी शिरोमणि दवाडी ‘सृजनशील सञ्चारकर्मी सम्मान २०८२’ बाट सम्मानित भएका छन् ।
ओप्सना फिल्मस् प्रालिको आयोजनामा नेपाल चलचित्र विकास बोर्डको सभाहलमा आयोजित दोस्रो ओप्सना फिल्म एण्ड म्युजिक अवार्ड २०८२ को अवसरमा दवाडीलाई सम्मान गरिएको हो ।
प्रमुख अतिथि बरिष्ठ चलचित्रकर्मी हरिहर शर्मा र कार्यक्रम अध्यक्ष एवम् आयोजक संस्थाका प्रबन्धक निर्देशक ओमप्रकाश राईले दवाडीलाई उक्त सम्मान गरेका थिए । सञ्चार क्षेत्रमा तीन दशकदेखि पुर्याएको उल्लेखनीय योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको आयोजक संस्थाले जनाएको छ ।
त्यस्तै, युवा साहित्यकार भिष्मराज फुलारालाई राष्ट्रिय साहित्य रत्न सम्मान प्रदान गरिएको छ । गायक शिव परियारलाई राष्ट्रिय संगीत रत्न सम्मान प्रदान गरिएको छ भने डा.सूर्य बहादुर मगरलाई राष्ट्रिय संगीत व्यवसायी सम्मान दिइएको छ ।
साथै, राजेन्द्र बजगाईलाई राष्ट्रिय संगीत एवं कला रत्न सम्मान र देवेन्द्र पाण्डेलाई राष्ट्रिय संगीत तथा कला सम्मान प्रदान गरिएको आयोजकले जनाएको छ ।
समारोहमा प्रमुख अतिथि हरिहर शर्माले कलामा गरिएको सम्मान र प्रतिभाको पहिचानले कलाकारहरूलाई अझ सिर्जनात्मक कार्यमा प्रेरित गर्ने बताउँदै कला क्षेत्र राष्ट्रको पहिचान भएकाले सरकारले पनि यसलाई प्राथमिकतामा राख्नुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न विधाका उत्कृष्ट सर्जकहरूलाई दोस्रो ओप्सना फिल्म अवार्ड २०८२ प्रदान गरिएको थियो ।
