
जाजरकोट : कर्णाली प्रदेशका पाँच जिल्लाका मानवअधिकार रक्षकलाई आत्मरक्षा तथा मानसिक स्वास्थ्यसम्बन्धी दुई दिने तालिम दिइएको छ ।
मानव अधिकार तथा सामाजिक न्याय अभियान–रोयम नेपालको आयोजना तथा युवा मानवअधिकार रक्षक सञ्जालको समन्वय र ए.इ.आइ.एनको सहयोगमा जाजरकोटको खलंगामा तालिम आयोजना गरिएको हो ।
रोयम नेपालका संयोजक सन्तोष वि.क.का अनुसार मंसिर ६ र ७ गते सञ्चालित तालिम मानवअधिकार अभियानमा सक्रिय युवाहरू सहभागी भएका थिए ।
तनाव, डर, मनोवैज्ञानिक दबाब तथा केही अवस्थामा गम्भीर मानसिक चुनौतीसम्म सामना गर्नुपर्ने हुँदा, तालिमले उनीहरूलाई आत्म–रक्षा सीप, मानसिक सुदृढता तथा सुरक्षित रूपमा अभियान सञ्चालन गर्ने व्यवहारिक ज्ञान दिएको वि.कले बताए ।
जिल्ला समन्वय समिति जाजरकोटका प्रमुख दलबहादुर सिंहले मानवअधिकारको काम चुनौतीपूर्ण भएपनि युवाको अग्रसरता समाज परिवर्तनका लागि महत्वपूर्ण आधार रहेको बताए । ‘यस्ता तालिमले युवालाई हिम्मत, स्पष्टता र दिशा दिन्छ,’सिंहले भने ।
भेरी नगरपालिका–८ का वडाध्यक्ष विरबहादुर चन्दले स्थानीय तह र युवाबीचको सहकार्य मानसिक स्वास्थ्यका चुनौती समाधानमा प्रभावकारी बन्न सक्ने बताए ।
‘युवामा मानसिक चुनौती बढ्दैछ । राज्य र समुदाय दुवैले हातेमालो गर्नुपर्ने आवश्यकता छ,’ उनले भने ।
कार्यक्रममा पूर्ववडाध्यक्षद्वय खुम्बजंग शाह र गोपाल नेपाली, पत्रकार बालकुमार शर्मा, रेशम खड्का, बिनोद घर्ती मगर, रति नेपाली तथा इन्सेकका प्रतिनिधि बासुदेव शर्मालगायत सरोकारवालाहरूले मानवअधिकार र मानसिक स्वास्थ्यका विषयमा आफ्ना धारणा राखेका थिए । तालिममा प्रशिक्षकहरूले आत्म–रक्षाका व्यवहारिक अभ्यासदेखि लिएर मानसिक स्वास्थ्यका विभिन्न आयामबारे सैद्धान्तिक तथा व्यावहारिक ज्ञान प्रदान गरे । तालिममा फिल्डमा मानवअधिकारका संवेदनशील मुद्दामा काम गर्दा देखापर्न सक्ने तनाव, धम्की, जोखिमको पहिचान तथा त्यसको व्यवस्थापन सम्बन्धी जानकारी दिइएको थियो ।
जाजरकोट, रुकुम पश्चिम, सुर्खेत, डोल्पा र सल्यान गरेर कर्णालीका पाँच जिल्लाबाट आएका २५ जना युवा मानवअधिकार रक्षकको उत्साहजनक सहभागिता रहेको आयोजकले जनाएको छ । सहभागीहरूले तालिमले आफ्नो भूमिकालाई अझ सुरक्षित, आत्मविश्वासी र प्रभावकारी बनाउन मद्दत पुगेको अनुभव सुनाएका थिए ।
मानवअधिकारका मुद्दामा काम गर्दा उत्पन्न मानसिक दबाब, तनाव व्यवस्थापन तथा आत्म–सुरक्षाका व्यवहारिक सीप सिक्न पाएको उनीहरूको भनाइ छ ।
आयोजक संस्थाले तालिमले युवा मानवअधिकार रक्षकहरूलाई मनोवैज्ञानिक चुनौतीहरूको समाधान, आत्म–रक्षा सीप र सुरक्षित अभियान सञ्चालनमा दीर्घकालीन योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ ।