
काठमाडौं : सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदूरपश्चिम रोयल्सले लगातार दोस्रो जित निकालेको छ । शुक्रबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सलाई १८ रनले पराजित गर्दै सुदूरपश्चिमले लगातार दोस्रो जित हासिल गरेको हो । पोखराको भने यो लगातार दोस्रो हार हो ।
सुदूरपश्चिमले दिएको १९४ रनको लक्ष्य पछ्याएको पोखराले २० ओभरमा ८ विकेट गुमाउँदै १७५ रन मात्र बनाउन सक्यो । पोखराका लागि कप्तान कुशल भुर्तेलले अर्धशतकीय इनिङ खेले । उनले ३२ बलमा ४ चौका र ४ छक्काको सहयोगमा ५३ रन बनाए ।
जिमी निशमले २५ बलमा २ चौका र ५ छक्काको सहयोगमा ४७ रन बनाए । पोखराका ओपनर एडम रोसिङटन पहिलो ओभरमै १ रनमा रनआउट भए । अर्का ओपनर दिनेश खरेल तेस्रो ओभरमा ६ रनमा आउट भए ।
डान डाउथवेटले १६ बलमा १ चौका र ५ छक्काको सहयोगमा ३७ रन जोडे । बलिङमा सुदूरपश्चिमका हर्मित सिंहले २ विकेट लिए । कुगेइलिन, ऐरी, हेमन्त धामी, नरेन साउद र अभिनास बोहराले एक–एक विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा सात विकेट गुमाउँदै १९३ रन बनाएको थियो ।
सुदूरपश्चिमका लागि जोश ब्राउनले ३५ बलमा छ चौका र पाँच छक्काको मद्दतले सर्वाधिक ६८ रनको योगदान गरे । यसैगरी विनोद भण्डारीले ४३, क्रिस लिनले ३१ र कप्तान दीपेन्द्रसिंह ऐरीले १५ रन बनाए ।
पहिलो विकेटका लागि ब्राउन र विनोदले १०८ रनको शतकीय साझेदारी गरे । पोखराका लागि जिम्मी निशमले तीन र ड्यानियल डाउथवेट र आकाश चन्दले दुई/दुई विकेट लिए ।
सुदूरपश्चिमले यसअघि काठमाडौं गोर्खाजमाथि २९ रनको जित निकालेको थियो । पोखरा भने पहिलो खेलमा विराटनगर किंग्ससँग पराजित भएको थियो ।
नेपाल क्रिकेट संघको आयोजनामा मङ्सिर १ गतेदेखि सुरू भएको प्रतियोगितामा आठ टोली सहभागी छन् । एनपिएल अन्तर्गत शनिबार दुई खेल हुँदैछन् । बिहान पौने १२ बजे हुने पहिलो खेलमा कर्णाली याक्स र लुम्बिनी लायन्सबीच प्रतिस्पर्धा हुनेछ । यस्तै अपराह्न ४ बजे हुने दोस्रो खेलमा काठमाडौं गोर्खाज र विराटनगर किंग्सबीच प्रतिस्पर्धा हुनेछ ।