२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

तेक्वान्दो खेलाडी कतारमा सम्मानित

shivam cement
तिलु शर्मा पौडेल
२०८२ मंसिर ४ गते १८:५८
Shares
तेक्वान्दो खेलाडी कतारमा सम्मानित

दोहा, कतार : पाँचौं कतार ओपन तेक्वान्दो च्याम्पियनसिप जी वानमा प्रतिस्पर्धा गर्न कतार आएका खेलाडी सम्मानित भएका छन् । प्रतियोगिताको क्वार्टरफाइनलसम्मको यात्रा तय गरी उत्कृष्ट प्रदर्शन गरी नेपालको नाम उच्च राख्न सफल भएको खुसीयालीमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए एनसिसी) कतारले बुधबार साँझ एक कार्यक्रमका बीच खेलाडी र कोचलाई सम्मान गरेको हो  ।

सम्मानित हुने खेलाडीहरूमा क्रमशः सन्तोषी राई, इसा महतो, गीता कठायत, ममता रिजाल र प्रशिक्षक सन्दिपा अमगाई रहेका छन् । एनसिसीका अध्यक्ष कृष्ण पन्थीको सभाध्यक्षता तथा कतारका लागि नेपाल सरकारका पर्यटन दूत राजेन्द्रकुमार शर्मा (आरके)को प्रमुख आतिथ्यतामा सम्मान तथा बिदाइ कार्यक्रम सम्पन्न भएको हो । मुन्तजामा रहेको गोर्खाली रेस्टुरेन्टको सभा हलमा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथि शर्माले नेपाल सानो देश भए पनि खेलमार्फत अन्तर्राष्ट्रिय स्तरमा नेपालको नाम उच्च बनाएकोमा खेलाडीको प्रशंसा गरेका थिए । शर्माले खेलाडीलाई आवश्यक सामग्री खरिदका लागि नगद एक लाख १५ हजार रुपैयाँ सहयोग गर्दै खेलाडी राष्ट्रको गहना भएको बताए ।

सम्मान ग्रहणपछि बोल्दै प्रशिक्षक अमगाईले एनसिसी कतारले खेलाडीलाई गरेको सहयोग अद्भुत रहेको बताइन् । उनले आफू विश्वका विभिन्न देशमा पुग्दा कतारमा झैं कहीँ कतै एनआरएनएले साथ नदिएको स्मरण गर्दै तेक्वान्दोका लागि यसपटक खेलाडी आफ्नै खर्चमा कतारमा खेल्न आएको खुलासा गरिन् । अमगाईले यस पटक धेरै देशमा खेल्न जानु पर्दा सरकारी बजेट सकिएको हुँदा आफ्नै खर्चमा कतार आएको बताइन् ।

एनसिसीका महासचिव विवेक पुलामी मगरले सहजीकरण गरेको कार्यक्रमको समापन गर्दै सभाध्यक्ष पन्थीले खेलाडीलाई करारमा भए पनि सरकारले रोजगारी दिनुपर्ने बताए । आफैंले खर्च हालेर राष्ट्रका नाममा खेल्न सम्भव नहुने बताउँदै नेपालका सबै सरोकारवालाहरूले खेलाडीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औंल्याउँदै खेलमार्फत नेपालको नाम उच्च पार्ने खेलाडीलाई धन्यवाद ज्ञापन गरेका थिए । पन्थीले मध्यपूर्वको सानो देश कतारले खेलक्षेत्रमा लगानी गर्दै गरेको चमत्कारको स्मरण गर्दै नेपालले विश्वकप आयोजना गर्न नसके पनि बृहत् रूपमा बजेटको व्यवस्था गर्न सरोकारवालाको ध्यानाकर्षण गराएका थिए । 

सम्मान कार्यक्रमलाई एनसिसीका द्वितीय उपाध्यक्ष सन्तोष पौडेलले स्वागत मन्तव्यद्वारा स्वागत गरेका थिए । कार्यक्रममा एनआरएनए अभियन्ता, सामाजिक व्यक्तित्वसहित अन्य खेलप्रेमीहरुको उपस्थिति रहेको थियो ।

ADV

ताजा खबर

सम्बन्धित खबर