
रौतहट : नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र रौतहट जिल्ला कमिटी पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वबाट औपचारिक रूपमा अलग हुँदै नेता जनार्दन शर्माको अगुवाइमा गठित प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको छ ।
नेकपा माओवादी केन्द्रको गौरस्थित पार्टी कार्यालयमा बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत जिल्ला इन्चार्ज तथा संविधान सभा सदस्य अशोक जयसवालले घोषणा गरेका हुन् ।
उनले बिहीबारदेखि नै औपचारिक रूपमा प्रगतिशील राष्ट्रिय अभियानमा समाहित भएको र प्रचण्ड नेतृत्वको नेपाली कम्युनिष्ट पार्टीमा समाहित नहुने स्पष्ट पारे ।
जिल्ला इन्चार्ज जयसवालले प्रचण्डको नेतृत्वमा देखिएका राजनीतिक वैचारिक विचलन संगठनमा नोकरशाही तन्त्र, स्वार्थ केन्द्रित गतिविधि र पद लोभलुपताबाट उन्मुख अपरिपक्व सहकार्य तथा गठबन्धनका कारण आजित भएर प्रगतिशील राष्ट्रिय अभियानमा समाहित हुनुपरेको बताए ।
उनले माओवादीको आदर्श मूल्य मान्यता र सिद्धान्तलाई बिर्सिएर प्रचण्डले भ्रष्टाचारी कसुरमा विशेष अदालतबाट धरौटीमा रहेका व्यक्तिलाई सह–अध्यक्ष बनाएर आफ्नो छवि जनमानस सामु उजागर गरेको आरोप लगाए ।
जयसवालले भने ‘त्यस्ता जनमारा, विचारहीन, स्वार्थीहरुको जमातबाट आजदेखि औपचारिक रूपमा अलगिँदा निकै खुशी लागेको छ ।’
बारम्बारको गठबन्धनप्रति आक्रोश
नेता जयसवालले कम्युनिस्ट आन्दोलनको धारको नेतृत्व गर्ने व्यक्तिले कहिले एमाले त कहिले कांग्रेससँग गठबन्धन गरेर पार्टीलाई तहसनहस बनाइरहेको अवस्थाबाट आफूहरू आजित भइसकेको बताए ।
उनले माओवादी कार्यकर्ताले कुनै पनि निर्वाचनमा ‘हँसिया हथौडा’ चिन्हमा मत खसाउन नपाएको गुनासो गर्दै भने, ‘सूर्य, कलम, रुख, आम, कटहर छापमा मत दिने कार्यबाट मुक्त भएको पाउँदा हर्षित भएका छौँ ।’ साथै उनले भदौमा ‘जेन जी’ पुस्ताको आन्दोलनबाट प्राप्त म्यान्डेट विपरीत प्रचण्डले काम गरिरहेको हुँदा विपरित कार्यको साक्षी बस्न नसकिने भएकाले शर्मा नेतृत्वको अभियानमा सहभागी भएको बताए ।
सोही कार्यक्रममा पूर्व उर्जा राज्यमन्त्री सत्यनारायण भगत विनले पनि तत्कालिन माओवादी अध्यक्ष प्रचण्डविरुद्ध चर्को अभिव्यक्ति दिए ।
उनले प्रचण्डले जनताको बहुदलीय जनवादलाई धारासायी बनाएर बिचौलियाहरूको साँठगाँठमा हिँडिरहेको आरोप लगाए ।
मन्त्री विनले आफू लगायतका जुझारु नेता एवं कार्यकर्ताहरू औपचारिक रूपमा प्रचण्डविरुद्धको कित्तामा गइ जनताको सुखदुखमा सहभागी हुने घोषणा गरे ।
पत्रकार सम्मेलनमा नेता एवं कार्यकर्ताहरूको उपस्थिति रहेको थियो । यस घोषणासँगै रौतहटमा माओवादी केन्द्रको सांगठनिक संरचना समाप्त भएको जिल्ला इन्चार्ज जयसवालले उद्घोष गरे ।