२०८२ मंसिर ४ गते बिहिवार / Nov 20 , 2025 , Thursday
२०८२ मंसिर ४ गते बिहिवार
Ads

तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल

shivam cement
२०८२ मंसिर ४ गते १५:२२
Shares
तोकिएकै मितिमा निर्वाचन सम्पन्न गर्नु सरकारको प्रमुख कार्यभार : गृहमन्त्री अर्याल

काठमाडौं : गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारको आगामी दिनको महत्वपूर्ण कार्यभार भनेकै तोकिएकै मितिमा निर्वाचनलाई शान्तिपूर्ण ढंगबाट सम्पन्न गर्नु रहेको बताएका छन् । 

बिहीबार मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०८२/८३ को प्रथम चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकमा मन्त्री अर्यालले आगमी निर्वाचनलाई निर्धारित मितिमै सम्पन्न गराउने गरी मन्त्रालयका सबै निकायका कर्मचारीहरू सो अनुरुपको तयारी र प्रतिवद्धताका साथ कार्य जिम्मेवारी निर्धारित गरी परिचालित हुन निर्देशन दिए ।

जेनजी आन्दोलनको भावना र मर्म अनुरुप सेवा प्रदायक निकायहरूले आफ्ना काम कारबाहीलाई छिटो छरितो बनाउने र कार्य प्रक्रियालाई सरलीकृत गर्ने र आफूले प्रवाह गर्ने सबै प्रकारका सेवाहरूलाई सम्भव भएसम्म विधुतीय माध्यमबाट गर्ने व्यवस्था मिलाउने र अभिलेख व्यवस्थापनलाई चुस्त दुरुस्त राख्न मन्त्री अर्यालले बैठकमा निर्देशन दिए ।

"सरकारी काम कारबाहीले गर्दा सेवा ग्राहीलाई अनावश्यक झनझट व्यहोर्नुपर्ने अवस्थाको अन्त्य गर्ने गरी कार्य गर्नसमेत सबै माताहतका निकाय तथा अधिकारीहरूलाई निर्देश गर्दछु," मन्त्री अर्यालले भने ।

आगमी निर्वाचनको वातावरण बनाउन र भौतिक श्रोतसाधन लागि आवशयक पर्ने बजेटका कार्यक्रम अर्थ मन्त्रालयबाट गृह मन्त्रालयलाई सहजीकरण भएको भन्दै मन्त्री अर्यालले अर्थ मन्त्रालयलाई धन्यवाद दिए ।  

समीक्षाका क्रममा प्रधानमन्त्री कार्यालय, योजना आयोग, अर्थ र संघीय मामिला मन्त्रालयले दिएका सुझावहरूलाई मन्त्रालय मनन गरेर कार्यन्वयनमा लैजाने मन्त्री अर्यालले बताए ।

राजस्व चुहावट नियन्त्रणमा लिएको प्रयास अपर्याप्त भएको भन्दै मन्त्री अर्यालले त्यसतर्फ विशेष ध्यान दिन र आगामी चौमासिक प्रगति समीक्षामा देखिने गरि काम गर्न समेत निर्देश गरे ।

सीमापार अपराध न्यूनीकरण, लागूऔषधको दुरुपयोग र ओसारपोसारविरुद्धको कारबाही र सडक दुर्घटना न्यूनीकरणका लागि वर्तमान कार्यशैलीमा आश्यकता अनुसार पुनारावलोकन गर्न र जनताले अनुभूत गर्ने गरी काम गर्न पनि मन्त्री अर्यालले सम्बद्ध निकायलाई निर्देशन दिए ।

'जेनजी आन्दोलन र त्यसपछि विकसित घटना क्रमले हाम्रा मन्त्रालयका नियमित काम कारबाहीमा केही बाधा अड्चन परे पनि अब मन्त्रालयको नियमित कामलाई तीव्रता दिएर अघि बढ्नुपर्नेछ,' मन्त्री अर्यालले भने ।

समीक्षा बैठकमा उठेका विषयलाई समोब्धन गर्दै मन्त्री अर्यालले भने, 'मन्त्रालय मातहतका निकायहरूको वार्षिक कार्ययोजना र कार्य प्रगतिको समीक्षा सबै निकायहरूले आन्तरिक रुपमा नियमित गर्ने गरौं र वार्षिक रुपमा लक्ष निर्धारित क्रियाकलाप र माइलस्टोनहरूको प्रगति लक्ष्यअनुरुप हासिल गर्न के कसो गर्नु पर्छ सो को समीक्षा गरी सोहिअनुसार प्रगति हासिल गर्ने गरी बाँकी कार्य अगाडि बढाउन निर्देश गर्दछ।"  

कार्यक्रममा गृह सचिव रामेश्वर दंगालले सुशासन र पारदर्शीतालाई मूल केन्द्रविन्दु बनाइ आफ्नो जिम्मवारी निर्वाह गर्न मन्त्रालयअन्तर्गतका सबै निकायलाई निर्देशन दिए । सचिव दंगालले सरकारको वार्षिक नीति तथा कार्यक्रमअन्तर्गत र मन्त्रालयले निर्धारण गरेका कार्यक्रमहरूलाई प्राथमिकतामा राखेर काम गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा मन्त्रालयका सहसचिव तथा मूल्यांकन महाशाखा प्रमुख सुरेश पन्थीले मन्त्रालय मातहत रहेका सबै निकायहरूको समग्रमा प्रस्तुतीकरण दिँदै मन्त्रालयको वार्षिक कुल दुई खर्ब ८ अर्ब बजेटमा चालु आवको पहिलो चौमासिकसम्ममा आइपुग्दा मन्त्रालयले चालु खर्चतर्फ २० दशमलव ९२ प्रतिशत र पुँजीगततर्फ १० दशमलव ६५ प्रतिशत वित्तीय प्रगति हासिल गरेको जानकारी दिए ।

ADV

ताजा खबर

सम्बन्धित खबर