
धनगढी : नवगठित नेपाली कम्युनिस्ट पार्टीमा आबद्ध डा.भीम रावल र नेपाली कांग्रेस (विपी)का नेता कर्णबहादुर मल्लबीच धनगढीमा शुक्रबार भेटवार्ता भएको छ । नेपाली कम्युनिस्ट पार्टीमा आवद्ध भएपछिको डा.रावलको पहिलो सुदूरपश्चिम भ्रमणका क्रममा नेता–कार्यकर्ताहरुको भीड लागेको थियो ।
सुदूरपश्चिम प्रदेशसभाका पूर्व सदस्य मल्लले डा.रावलसँगको भेटघाटमा सुदूरपश्चिमबासीको आशा जोगाउँदै विद्यमान राजनीतिक र सामाजिक संकटबाट मुलुकलाई चाँडै निकास दिन आग्रह गरेका छन् ।
डा.रावलले सुदूरपश्चिममा वाम आन्दोलनको नेतृत्व गर्दै नेकपा (एमाले)को उपाध्यक्ष र मुलुकको उपप्रधानमन्त्रीको भूमिका निर्वाह गरेका थिए । तर अध्यक्षमा प्रतिष्पर्धा गरेको प्रतिस्पर्धा कारण केपी शर्मा ओली नेतृत्वको नेकपा (एमाले)ले उनलाई पार्टीबाट निस्कासन गरेको थियो । त्यसपछि उनले मातृभूमी जागरण अभियान गठन गरेका थिए, जुन अभियान अहिले नवगठित नेपाली कम्युनिस्ट पार्टीसँग एकीकृत भइसकेको छ ।
भ्रमणका क्रममा डा.रावलले मुलुकमा विद्यमान समस्याको समाधानका लागि सबै राजनीतिक दल र राष्ट्रवादी शक्तिहरुलाई एकताबद्ध भएर अघि बढ्नुपर्ने आवश्यकता औँल्याएका छन् । भेटघाटमा नेपाली कम्युनिस्ट पार्टीका सुदूरपश्चिम प्रदेशस्तरीय नेताहरू र कार्यकर्ताहरूको पनि उपस्थिति रहेको थियो ।