
काठमाडौं : नेपालगन्जमा शुक्रबार ‘नेपालगन्ज डिस्कोर्ष’को पाँचौं शृंखला सम्पन्न भएको छ । अघिल्लो वर्षभन्दा भिन्न, यस वर्ष कार्यक्रममा ‘फाइनप्रिन्ट फिभर’ समेत सञ्चालन गरिएको थियो, जसले कन्क्लेभलाई साहित्य, विचार र बहसको संयोजनमा रूपान्तरण गर्यो ।
कार्यक्रमको सुरुवात सफ्टवेयर इन्जिनियर अरशद कमल सिद्दीकीको ‘डिजिटल युगको दोधारः प्रविधि वरदान कि अभिशाप’ शीर्षक प्रस्तुतीकरणबाट भयो । उनले प्रविधिको सदुपयोग र दुरुपयोग दुबै पक्ष प्रस्ट्याउँदै डिजिटल युगले ल्याएका सम्भावना र चुनौतीबारे विस्तृत जानकारी दिए ।
दोस्रो सेसन ‘नेपालगन्जः आर्थिक राजधानीको नारा र सम्भावना’ शीर्षकमा भयो । सेसनमा केएल दुगड ग्रुपका सिइओ प्रदीप छाजेड, नेपाल पर्यटन बोर्डका सूर्य थपलिया, नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष टंकबहादुर धामी र व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक शरदविक्रम राणा सहभागी थिए । कार्यक्रमको सञ्चालन अर्थ–पत्रकार सुरेशराज न्यौपानेले गरे ।

वक्ताहरूले नेपालगन्जलाई आर्थिक केन्द्रका रूपमा अघि बढाउन क्रसबोर्डर पर्यटन महत्वपूर्ण आधार बन्न सक्नेमा जोड दिए ।
सिइओ छाजेडले भारतीय पर्यटकलाई बेवास्ता गर्ने प्रवृत्ति हटाउनुपर्ने उल्लेख गर्दै सवारी जाँचका नाममा उनीहरूलाई झन्झट दिने गरिएको बताए । उनले ‘युरोप र अमेरिकाबाट आएका मात्रै पर्यटक मान्ने धारणा गलत हो’ भन्दै भारतीय बाजारको विशाल सम्भावना औंल्याए ।
नेपाल पर्यटन बोर्डका सूर्य थपलियाले क्रसबोर्डर पर्यटनले देशकै रूपान्तरण गर्न सक्ने दाबी गर्दै भारतीय पर्यटकका आवश्यकतामा लचिलो हुनुपर्ने बताए । उनले वेडिङ डेस्टिनेसनका रूपमा नेपालगन्जलाई विकास गर्न सकिने सम्भावना पनि प्रस्तुत गरे ।
उद्योग वाणिज्य संघका अध्यक्ष धामीले नेपालगन्जमा सुक्खा बन्दरगाह निर्माण अपरिहार्य भएको उल्लेख गरे । उनले नेपालगन्जबाट भारतीय सहर, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका राजधानी सहरहरू मात्र तीन घण्टामा पुग्न सकिने भएकाले यहाँ बन्दरगाह स्थापना गरे आयात–निर्यात खर्च घट्ने तर्क गरे ।
व्यापार तथा निर्यात प्रवर्धन केन्द्रका कार्यकारी निर्देशक राणाले देशको आर्थिक सन्तुलन अत्यधिक बिग्रेको बताउँदै भने, ‘हामी एक रुपैयाँ निर्यात गर्छौं भने आठ रुपैयाँ आयात गर्छौं, नेपालगन्जमा त एक रुपैयाँ निर्यात गर्दै ३० रुपैयाँ आयात भइरहेको छ ।’ उनले संघ, प्रदेश, स्थानीय तह र निजी क्षेत्र मिलेर ‘भिजन २०३०’ तयारी गर्नुपर्ने सुझाव दिए । साथै उनले नेपालका ‘प्राइमरी प्रोडक्ट’ उत्पादनमा सुधार गर्नुपर्ने र नेपाललाई ‘ल्याण्डलक’ बाट ‘ल्याण्डलिंक’ मा रूपान्तरण गर्नुपर्ने धारणा राखे ।

कन्क्लेभमा ‘जेनजी विद्रोहपछिको नेपालः अन्योल र अवसर’ शीर्षकमा अर्को महत्वपूर्ण सेसन भयो । यसमा समाजशास्त्री राम गुरुङ, जेनजी अभियन्ता रक्षा बम, मिस नेपाल वल्र्ड २०२५ लुना लुइँटेल र युवा उद्यमी मञ्चका अध्यक्ष सुदीप घिमिरे सहभागी थिए । सञ्चालन डा. बद्रि चापागाईंले गरे ।
समाजशास्त्री गुरुङले जेनजी विद्रोह विभेदकारी नीतिप्रति आक्रोशबाट उत्पन्न भएको दाबी गर्दै यो आन्दोलन ‘विरोधबाट सुरु भएको’ बताए । मागलाई संस्थागत गर्न सके भविष्यमा यस्ता आन्दोलन दोहोरिन नपर्ने पनि उनले बताए ।
मिस नेपाल लुईंटेलले शिक्षा क्षेत्रमा सुधार, राज्य प्रणालीको पारदर्शिता र सुशासन अत्यावश्यक रहेको प्रस्ट पारिन् । आन्दोलन कठिन भए पनि आवश्यक भएको उनको धारणा थियो ।
जेनजी अभियन्ता रक्षा बमले जेनजी आन्दोलन सामूहिक चेतनाबाट सञ्चालित भएको बताउँदै आफूहरूको माग पारदर्शितामात्र भएको बताइन् । सामाजिक सञ्जालले जेनजीलाई तेजीसँग संगठित हुन मद्दत गरेको उनले बताइन् ।
राजनीतिमा तत्काल प्रवेश नगर्ने स्पष्टता दिँदै उनले आर्थिक वास्तविकता र निर्वाचन खर्चका चुनौती औंल्याउँदै प्रश्न गरिन्, ‘अहिले राजनीतिमा आएँ भने मेरो आयस्रोत के ? जेनजीहरू भर्खरै पढिरहेका छन्, क्याम्पेन चलाउन फन्डिङ कसले गर्ने ?’

युवा उद्यमी मञ्चका अध्यक्ष घिमिरेले आवधिक आन्दोलनले उद्यम क्षेत्र अन्योलमा परेको उल्लेख गर्दै भने, ‘व्यवसाय विस्तार गर्ने कि नगर्ने ? लगानी गर्ने कि नगर्ने ? अन्योल मात्रै छ ।’
कन्क्लेभमा वरिष्ठ अभिनेता राजेश हमालसँग पत्रकार पवन आचार्यले संवाद गरे । हमालको पुस्तक ‘युगदेखि युगसम्म’ यस वर्ष प्रकाशित भएको छ ।
फाइनप्रिन्ट फिभरमा ‘स्वस्पर्श’ का लेखक डा. नवराज केसीसँग सुमित्रा न्यौपाने, ‘चमेलीको फूल बैजनी रुमाल’ का लेखक सुबिन भट्टराईसँग पत्रकार यज्ञ खत्री र ‘ज्ञानिका’का लेखक ददि सापकोटासँग मध्यान्ह दैनिकका सम्पादक जनक नेपालले संवाद गरे ।
कन्क्लेभको अघिल्लो दिन आयोजित प्रि–सेसनमा ‘महानगरः एक सपना—उदाउँदो सहर र पुरानो सहर जोड्ने बहस’ शीर्षक सेसनमा नेपालगन्ज उपमहानगर प्रमुख प्रशान्त विष्ट र कोहलपुर नगर प्रमुख पूर्णप्रसाद आचार्य सहभागी थिए । सञ्चालन पत्रकार झलक गैरेले गरे ।
त्यस्तै ‘देश जोड्ने खेलकुद’ शीर्षक सेसनमा नेपाल रन युकेका संस्थापक सन्तोष राई, राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान एलबी क्षेत्री र हाम्रो खेलकुदका सम्पादक प्रकाश तिमल्सिना वक्ता थिए । कार्यक्रमको सञ्चालन क्रिकेटर तथा सञ्चारकर्मी ममता थापाले गरिन् ।
यसैबीच शनिबार ११औं धारा नेपालगन्ज म्याराथन आयोजना हुँदैछ ।
